झापा ५ बैशाख । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भिर बन्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
कोभिड– १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएपछिको असहज परिस्थितीमा संघमा आबद्ध श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति युनिकमले चासो व्यक्त गर्दै ध्यानकर्षण गराएको हो ।
व्यापार क्षेत्रका श्रमिक र कर्मचारीहरुका रोजगारदाता र प्रतिष्ठानलाई युनिकमले संकटमा अभिभावकीय भूमिका निर्वाह गर्न अपिल पनि गरेको छ ।
लकडाउनका समयमा कार्यक्षेत्रमा नखटिने श्रमिक र कर्मचारीको नियमित तलब सुविधा नरोक्न प्रतिष्ठान समक्ष आग्रह गरेको युनिकमले यो बेला काममै खटिएका कर्मचारी र श्रमिकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन पनि माग गरेको छ ।
विषम परिस्थितीमा खटिने कर्मचारीलाई अतिरिक्त परिश्रमिकको पनि प्रबन्ध गर्न माग गर्दै युनिकमले रोजगारदाता र प्रतिष्ठानहरुलाई पनि यथेष्ट सहयोग गर्न वित्तिय संस्थाहरुको ध्यानाकर्षण गराएको छ ।
युनिकम नेपालका केन्द्रिय अध्यक्ष गजेन्द्र पौडेलद्धारा बिहिबार जारी विज्ञप्तीमा जटिल परिवेशमा आवश्यक समन्वयका लागि नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श लगायतका संघ संस्थाको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिएको छ ।
यसैगरी सहकारी संस्थाहरुमा कार्यरत कतिपय कर्मचारी र बजार प्रतिनिधिहरुलाई सुरक्षा सामग्री उपलब्ध नभएको गुनासो प्रति पनि युनिकम नेपालले चासो व्यक्त गर्दै संगठित असंगठित सबै क्षेत्रका मजदुर कर्मचारीको न्यूनतम सुविधा र स्वास्थ्यप्रति राज्य संयन्त्र जिम्मेवार बन्नुपर्ने पनि बताएको छ ।
राजधानी काठमाडौ सहित ठूला शहरबाट मजदुरहरु कष्टकर रुपमा गाउँ फर्किरहेको परिस्थितिप्रति तत्काल राज्यले सम्बोधन गर्नुपर्ने माग पनि विज्ञप्तीमा गरिएको छ ।
श्रमिक र कर्मचारीहरुको स्वास्थ्यप्रति गम्भिर हुन ध्यानकर्षण

































































































