
काठमाडौं २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको स्पष्ट पारेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको भनी आएका सूचनाको पनि खण्डन गरेको छ । शिक्षा मन्त्रालयले विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणलाई लिएर नेपालमा परीक्षाहरु स्थगित भएका, विद्यालय बन्द हुन थालेका भनी आएका सूचना तथा समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार चैत ६ देखि हुने गरी यसअघि नै तय भएको एसईई परीक्षा यथावत् समयतालिका अनुसार सञ्चालन हुनेछ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,–‘चैत ६ देखि तय भएको एसईई परीक्षा यथावत् सञ्चालन हुनेछ।’ त्यस्तै मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने सूचना गलत भएको भन्दै भ्रममा नपर्न अपिल गरेको छ ।

































































































