झापा २४ पुस । १–नं प्रदेशका प्रमुख सोमनाथ अधिकारीले सरकारी लगानीको आधारमा सामुदायिक विद्यालयले प्रतिफल दिन नसकेको बताउनु भएको छ ।
२९ औं प्याब्सन दिवसको अवसरमा झापाको विर्तामोडमा आयोजित निजी विद्यालयको योगदान, अवसर, चुनौति र सम्भाब्यता विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोेधन गर्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयले कम लगानीमा बढी प्रतिफल दिएको धारणा राख्नुभएको हो ।
प्रदेश नं–१ राजनीतिक, सामाजिक, शैक्षिक, बौद्धिक लगायत हरेक हिसावले अग्रस्थानमा रहेको चर्चा गर्दै अधिकारीले विशेषज्ञता हासिल गरेका ब्यक्तिहरुसँगको समन्वय र सुझाव ग्रहण गरेरै शैक्षिक नीति जारी हुने बताउनुभयो ।

‘जुन क्षेत्रका लागि नीति बन्छ, त्यस क्षेत्रका विशेषज्ञ ब्यक्तित्वसँग छलफल गरेरै त्यसलाई अन्तिम रुप दिइन्छ’ अधिकारीले भन्नुभयो–‘संविधान निर्माणमा पनि सुझाव संकलन गरिएको थियो । अन्य विषयगत कानून र नीति बनाउँदा पनि सम्बन्धित क्षेत्रको सुझाव लिने प्रचलन छ । शैक्षिक क्षेत्रमा देखिएका समस्या आपसी छलफल र समन्वयबाट समाधान गर्न सकिन्छ ।’
गुरुले कसैलाई शिक्षा प्रदान गर्ने कुरामा विभेद नगर्ने बताउँदै उहाँले भन्नुभयो–‘कसैले मनोरञ्जनका रुपमा बुझ्लान्, कसैले ज्ञान बुद्धि, कसैले सिकाई अभ्यास ठान्लान्, सबैले आ–आफ्नो क्षमता अनुसार शिक्षा ग्रहण गर्छन् ।’
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा. चन्द्र भण्डारीले अहिले दिइएको शिक्षा पूर्वीय वैदिक सभ्यता अनुकुल पनि नभएको र पूर्ण रुपमा पाश्चात्य परम्परा अनुकुलको पनि नभएका कारण शिक्षा मूल्यवान हुन नसकेको बताउनुभयो । ‘भ्यालु अफ एजुकेशन’ कायम राख्न पाठ्यक्रम परिवर्तन अनिवार्य रहेको उहाँको भनाइ थियो ।
गुरुकुल शिक्षा र मौलिक शिक्षाले ब्यवहारिक ज्ञानसँगै परिवार, समाज र देशप्रति उत्तरदायी जनशक्ति उत्पादन गरेको दावी गर्दै केन्द्रीय सदस्य भण्डारीले पूर्वीय वैदिक सभ्यता अनुकुलको शिक्षा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘संस्कृत विश्व विद्यालय जलाएर मुलुक बन्दैन’–भण्डारीले भन्नुभयो–‘अहिले पश्चिमा मुलुकले पनि संस्कृत शिक्षा पढाउन थालेका छन् । अबको ३० वर्ष पछि कम्प्युटर, मोवाइललगायतका हरेक एप्सहरुमा संस्कृत भाषाको प्रयोग हुने सम्भावना बढी छ ।’
नेपालमा रहेका प्राकृतिक जडीबुटी, भौतिक तथा सांस्कृतिक सम्पदाहरुको जानकारी, भौगोलिक वनावट लगायत नेपालको परिवेश अनुकुल शिक्षा आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–‘जुम्लामा यार्सागुम्बा छ, पहाडी र हिमाली क्षेत्रमा जडिबुटी छन्, लुम्बिनी, सगरमाथा, जनकपुर लगायतका सम्पदा छन् । यी प्राकृतिक जडिबुटीको संरक्षण प्रयोगको शिक्षा खै दिइएको छ ।’
शिक्षाका लागि बाहिरिने रकम रोकेकोमा निजी शैक्षिक क्षेत्रलाई सम्मान गर्नुपर्नेमा ७ बर्षपछि निजी शिक्षाको भविष्य अन्योलमा पार्ने नीति ल्याउनु सरकारको मुर्खता भएको टिप्पणी गर्दै नेता भण्डारीले भन्नुभयो–‘फस्ट डिभिजन ल्याउने विद्यार्थी देश, गाउँ, समाज र परिवारप्रति उत्तरदायी छैन, ऊ विदेश जान्छ, विदेशमै शिक्षा र श्रम खर्चन्छ , थर्ड डिभिजन ल्याउनेहरु यहाँ राजनीतिको अग्रस्थानमा छन् उनीहरुबाट कसरी देशको समृद्धि कल्पना गर्ने ?’ उहाँले देश, गाउँ, समाज र परिवारप्रति उत्तरदायी जनशक्ति उत्पादनका लागि गुरुकुल, हाम्रो परम्परागत मौलिक शिक्षालाई पनि पाठ्यक्रममा समेट्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्य दीपक कार्की, नेकपा झापाका शिक्षा विभाग प्रमुख सिताराम अधिकारी, राप्रपा नेपालका भक्तिप्रसाद सिटौला, प्याब्सन केन्द्रीय समितिका सल्लाहकार गोविन्द लम्साल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्याब्सन झापाका अध्यक्ष एल.पी. उप्रेतीले निजी विद्यालयको योगदान, अवसर, चुनौति र सम्भाब्यता समेटिएको अवधारणा पत्र प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप, शैक्षिक गुणस्तरमा देखिएको ह्रासका कारण गुणात्मक शिक्षा लिने नाममा नेपाली विद्यार्थी र पूँजी बाहिरिने क्रम बढेकाले शिक्षा ऐन, कानून तर्जुमा गर्दा यी समस्या समाधानमा ध्यान दिन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।
संयुक्त राष्ट्रसंघीय वडापत्र १९८९ मा उल्लेखित ‘राइट टु च्वाइस अफ एजुकेशन’ र नेपालको संविधान धारा ४४ को प्रावधान विपरित सामुदायिक विद्यालयमा पढ्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अध्यक्ष उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य मोहन सुब्बा, प्रदेश नं–१ का उपाध्यक्ष मिलनकुमार ढुङ्गाना, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष गौरीमान फागोले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जनार्दन ढकालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तु्त गरेका थिए ।

































































































