रोसन भट्टराई
बुद्धशान्ति पुस । देखि बुद्धशान्ति गाउँपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताका विभिन्न किसिमका गुनासा बाहिरिएका छन् ।
गाउँपालिका आर्थिक वर्ष २०७६÷७७ को पहिलो चौमासिक अवधी सकिएपछि गरिएको सार्वजनिक सुनुवाईमा स्थानीयले गाउँपालिकाको बजेट बनाउँदादेखि आगामी ५ वर्षमा गाउँपालिका बनाउने योजना, ध्वनी प्रदुषण, बैदेशिक रोजगारीमा गाउँपालिकाबाट विदेशीनेको अवस्था, अलैंचीका लागि वेयर हाउस निर्माण र रोजगारीको संभावना, गाउँपालिकाले लगाएको कर, बुद्धशान्तिको सुकुम्वासी समस्या, कृषिका समस्या, फड्के किराका कारण धानवालीमा भएको समस्या, बुद्धशान्ति वडा नं. १ मा नदी दोहनको समस्या लगायतका विषयमा गुनासा, जिज्ञासा र सुझाव दिएका थिए ।
बुद्धशान्तिका समाजसेवी मनोरथ तिवारीले बुद्धशान्ति गाउँपालिकाको बजेट बनाउँदादेखि कार्यन्वयनमा आउँदासम्म मिलेमतो, कमिसन र भ्रष्टचार भएको आशंका गर्दै बजेटमाथि प्रश्न उठाएका थिए । तिवारीले उठाएको प्रश्नको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत इन्द्रप्रसाद चापागार्इँले आफूले विगत तीन महिनायतादेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी दिंदै ३ महिनायता कुनै अनियमितता नभएको स्पष्टोक्ती दिएका थिए ।
अबको ५ वर्षमा गाउँपालिका कस्तो बन्छ ? के कस्ता योजना बोकेर गाउँपालिका अगाडी बढेको छ भन्ने तिवारीकै अर्को प्रश्नमा गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले चुनावमा भोट माग्न जाँदा आफूले जनतालाई दिएको आश्वासन आफूँ लगायत सिंगो टिमले सफलतापूर्वक कार्यन्वयनमा ल्याएको दावी गरे । गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा सडक मर्मत तथा निर्माणका क्षेत्रमा स्थानीयबासीको चित्त बुझ्ने गरिको बताए ।
बुद्धशान्तिका शिक्षा सेवी गणेश निरौलाले ध्वनी प्रदुषणका कारणले विद्यार्थीहरुमा अत्यन्तै धेरै असर परेको भन्दै त्यसको निराकरणको उपाय खोज्न गाउँपालिकासमक्ष आग्रह गरेका थिए ।

त्यसो त निरौलाले गाउँपालिकाबाट बैदेशिक रोजगारीमा जानेहरुको अवस्था र तथ्याङ्क र रोजगारीको अवस्थाबारे पनि जिज्ञासा राखेका थिए । निरौलाको आग्रह र जिज्ञासाका बारेमा प्रमुख प्रशासकीय अधिकृत चापागाँईले विषयमा ध्यान दिएर तत्काल न्युनिकरण गर्ने आश्वासन दिएका थिए । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क संकलन भइरहेको जानकारी दिनुभयो । भने अध्यक्ष भुजेलले बुद्धशान्तिका युवाहरुलाई यहाँ नै रोजगारी दिन नेपाल अलैंची व्यवसायी महासंघसंगको समन्वयमा टिमाई शिवर क्याम्प छेउमा अलैंची भण्डारण कार्यका लागि अलैंचीको वेयर हाउस स्थापना गर्न लागिएको बताउँदै भने–‘वेयर हाउसमा अलैंची कटिङ, ग्रेडिङ तथा लेभलिङ कार्यमा लगभग एकहजार जनाले रोजगारी पाउन सक्ने संभावना छ ।’ त्यो बाहेक अरु पनि रोजगारी सिर्जना हुने प्रकृतिका काम भइरहेको जानकारी अध्यक्ष भुजेलले बताए ।
त्यस्तै सार्वजनिक सुनुवाईमा बुधबारे गाविसका पूर्व अध्यक्ष खडानन्द वाग्लेले गाउँपालिकाले बढाएको करका विषयमा अर्को प्रश्न राखेका थिए । कर बढाइएको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चापागाईँले यो कर बुद्धशान्तिको विभिन्न विकास निमार्णका पूर्वाधारहरुमा खर्चिने भएकोले करको सीमा पहिलाको भन्दा केही हद सम्म बढेको स्वीकार्दै आवश्यक परे कार्यपालिका बैठकमा छलफल गरि कर घटाउने आश्वासन उनले दिएका थिए ।
त्यस्तै सुनुवाईमा उठेका अन्य विभिन्न प्रश्नहरु बुद्धशान्तिको सुकुम्वासी समस्या, कृषिका समस्या, फड्के किराका कारण धानवालीमा भएको समस्या, बुद्धशान्ति वडा नं. १ मा नदी दोहनको समस्या लगायतका विभिन्न समस्या तथा जिज्ञासाहरुलाई जनप्रतिनिधी तथा कर्मचारीले टिपोट गरेको तथा सुनुवाईमा उठेका समस्याहरुलाई तत्काल मध्यनजर गरि समाधानको बाटो खोज्ने प्रमुख प्रशासकिय अधिकृत चापागार्इँले बताएका छन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित भएका बुधबारे गाउँ पंचायतका पूर्व प्रधानपंच दिननाथ ढकालले पत्रकारसँग कुरा गर्दै गाउँपालिकामा विगत लामो समय देखि सार्वजनिक सुनुवाई नभइरहेको अवस्थामा यो सुनुवाईले जनताको गुनासो सरोकार वाला समक्ष पुगेकोमा आफूँ खुशी रहेको बताउँदै पहिलेको बुधबारे भन्दा अहिलेको बुधबारे धेरै विकसित भइसकेको र आगामी दिनहरुमा पनि जनताको गुनासो सुन्दै उनीहरुको समस्यलाई समाधान गर्दै अघि बढ्न जनप्रतिनिधी तथा कर्मचारीलाई सल्लाह दिएका छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको अध्यक्षता, उपाध्यक्ष मिरा भुर्तेल तथा ७ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधी, सुरक्षाकर्मीहरुको उपस्थितीमा भएको सुनुवाई कार्यक्रम गाउँपालिकाका प्रशासन शाखाका मदन कँडेलले संचालन गरेका थिए ।

































































































