भद्रपुर ३ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले फागुन २१ गते हुने निर्वाचनका लागि भ्रष्टाचार नियन्त्रण, सुशासनसहित विभिन्न २६ बुँदे पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा झापा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार डिल्ली घिमिरे ‘हिक्मत’ले सो प्रतिबद्धता पत्र वाचन गर्दै सार्वजनिक गर्नुभयो । उहाँले क्षेत्रमा शून्य भ्रष्टाचार, सुशासन स्थापना, सडक विस्तार तथा हात्ती नियन्त्रणका लागि पहल गर्ने लगायतका कार्यहरू आफू निर्वाचित भएमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आम नागरिकका सरोकारका विषयहरू—शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा समेत सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । पार्टीका केन्द्रीय सदस्य पुष्पराज पोखरेलले क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्दै ४ गतेदेखि घरदैलो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
नेता मोहन टुडुले देशभर आफ्नो पार्टीले नवयुवा उम्मेदवार उठाएकाले पार्टीको बहुमत आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो ।
नेकपा झापा क्षेत्र नं. ३ का घिमिरेको २६ बुँदे प्रतिवद्धता सार्वजनिक



















