भद्रपुर २१ पुष । सुस्ताएको भद्रपुर क्षेत्रको बजारलाई चलायमान बनाउने उद्देश्यले मेची रंगशालामा आगामी माघ ७ गते देखि २१ गते सम्म झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव २०८२ संचालन गरिने भएको छ ।
महोत्सवबारे उधोग वाणिज्य संघ झापाले भद्ररपुरमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सम्मेलनको औचित्य माथि प्रकाश पार्दै संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले व्यवसायीहरुको व्यापारी मनोवल उच्च बनाउदै उधोग व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले ५० प्रतिशत स्थानीय उत्पादन अन्तरगत पर्ने घरेलु उत्पादन महोत्सवको मुख्य आकर्षक रहने बताउदै महोत्सवमा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत रहने स्पष्ट पार्नुभयो । महोत्सव नाफा कमाउने नभई व्यापार व्यवसायमा संलग्नको मनोबल उच्च बनाउन प्रभावकारी हुने उहाँको भनाइ थियो ।
राईका अनुसार एकसय बढी स्टलका साथै विभिन्न स्थानीय उत्पादन समेत रहनेछन् ।
एककरोड बढीको लगानीमा शुरु गर्न लागिएको महोत्सवबाट १० करोड बढीको कारोबार हुने अनुमान गरिएको छ । चिया उत्पादन संघ झापा अध्यक्ष आदित्य पराजुलीले महोत्सव भव्य रुपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउदै एकलाख बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो । भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्कीले महोत्सवमा नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने बताउदै महोत्सवको अपनत्व नगरपालिकाले लिने प्रतिवद्धता जनाउनु भयो। भद्रपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अध्यक्ष मनोज सुब्बाले भद्रपुर झापा गोल्डकपले खेल क्षेत्रमा फड्को मार्न सफल भएको धारणा राख्दै व्यापार व्यवसायमा समेत भद्रपुरले अघि बढ्नुपर्ने मा जोड दिनुभयो । उधोग संघ झापा उपाध्यक्ष दिपेश ढकालले महोत्सव संचालनमा संघले पुर्ण सहयोग रहने बताउनु भयो ।
ब्यापारी व्यवसायीको मनोबल उच्च बनाउन भद्रपुरमा महोत्सवको तयारी



















