काठमाडौं ३ पुस । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनबाट ओली अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षमा विजयी ओलीले १,६६३ मत प्राप्त गर्दा उहाँका प्रतिपष्पर्धी ईश्वर पोखरेलले ५६३ मत प्राप्त गरेका थिए ।
नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानल नै बनाएर निर्वाचनको मैदानमा उत्रिएका थिए । अध्यक्षसहित १९ पदाधिकारीमा ओली प्यानलकै बर्चस्व रहेको छ । पदाधिकारीमा पोखरेल प्यानलका दुईजना बाहेक अरु सबै ओलीकै प्यानलका निर्वाचित भएका छन् ।
१९ पदाधिकारीमा पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भए। पाँच उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ सबैभन्दा बढी मत (१‚७३७) ल्याएर निर्वाचित हुँदाँ अन्य उपाध्यक्षमा विष्णुप्रसाद पौडेल १‚६७५‚ रामबहादुर थापा १‚५१६‚ गोकर्ण विष्ट १‚३६८ र रघुजी पन्त १‚२५८ विजयी भए ।
उपाध्यक्षमा प्रतिस्पर्धा गरेका गुरुप्रसाद बराल , विन्दा पाण्डे‚ परशुराम मेघी गुरुङ‚ अरूण नेपाल‚ टंकप्रसाद कार्की‚ भीमप्रसाद आचार्य पराजित भए ।
यसैगरी महासचिवमा ओली पक्षका शंकर पोखरेल १‚२२८ मत निर्वाचित हुँदा पोखरेल पक्षका सुरेन्द्र पाण्डे पराजित भए। महासचिवका उम्मेद्वार पाण्डेले ९९९ मत प्राप्त गरेका थिए । पोखरेलको महासचिवमा यो दोस्रो कार्यकाल हो ।
यसैगरी उपमहासचिव पदमा लेखराज भट्टले सबैभन्दा बढी मत पाएर निर्वाचित हुँदा उक्त पदमा रघुवीर महासेठ र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका छन्। अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिएका विष्णु रिमालले भने पराजय ब्यहोर्नु पर्यो ।
नौजना सचिव पदमा ओलीको प्यानलै विजयी भएको छ। सचिवतर्फको नौ पदमा महेश बस्नेतले सर्वाधिक मत (१‚५४४) प्राप्त गर्दै विजयी हुँदा अन्य सचिवहरुमा पद्माकुमारी अर्याल , छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल र राजन भट्टराई निर्वाचित भए।
एमाले महाधिवेशनमा २‚२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ प्रतिनिधि मतदानमा सहभागी नभएको बताइएको छ ।
तेस्रो पटक एमाले अध्यक्षमा ओली, पदाधिकारीमा पोखरेल पक्षका बिष्ट र भट्टराई



















