झापा २५ मंसीर । प्रतिनिधिसभा निर्वाचनका लागि ५ वटा क्षेत्र रहेको झापामा नेपाली कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ६६ जनाको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा उम्मेद्वारीका लागि ६६ जनाको नाम पठाएको हो ।
पार्टीको आज (बिहीबार) बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिहरुले उम्मेद्वारका लागि सिफारिस गरेका नाम जस्ताको तस्तै पठाएको जनाएको छ । प्रत्यक्ष र समानुपातिक गरी ५ वटा क्षेत्रबाट सिफारिस भएका ६६ जना मध्ये २२ जना प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भएका छन् भने ४४ जना समानुपातिकतर्फका उम्मेद्वार रहेका छन् ।
जसमा क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा एकल उम्मेद्वारका रुपमा सिफारिस हुँदा क्षेत्र नंं २ बाट तीनजनाको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ ८ जना, क्षेत्र नं. ४ बाट ३ जना र क्षेत्र नं. ५ बाट ७ जनालाई प्रत्यक्ष निर्वाचनतर्फ सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयले जनाएको छ ।
त्यसैगरी समानुपातिकतर्फ क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ र ३ बाट १०/१० जना, क्षेत्र नंं ४ बाट ५ जना र क्षेत्र नं. ५ बाट १३ जना समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार सिफारिस भएका छन् ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समितिहरुले सिफारिस गरेको नामहरु अनुमोदन गरी पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।





















