बिर्तामोड २५ मंसीर। बिर्तामोडबाट प्रकाशित इजलास दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सचिव (पछिल्लो कार्यकाल) प्रदीप परियारमाथि भएको धम्की र गालीगलौजप्रति महासंघ झापा शाखाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि पत्रकार परियारलाई अभिषेक चौधरीले दिएको धम्की र गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यसअघि कहिँकतै सम्पर्क नभएका चौधरीले कुनै विषय प्रसंग बिनै आफ्नो फेसबुक आइडीबाट गत मंसीर २३ गते मंगलबार साँझ म्यासेन्जर भिडियो कलबाट जातीय विभेदपूर्ण गालीगलौज गर्दै घरबाटै उठाइदिने जस्ता धम्की दिएको घटनाले पत्रकारको सुरक्षामा गम्भीर चुनौति उत्पन्न भएको महासंघ झापाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
श्रमजीवी पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता गैरकानूनी गतिविधिप्रति महासंघले घोर भर्सना गरेको छ । उक्त घटनाको अविलम्व छानविन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न स्थानीय प्रशासन समक्ष महासंघले माग गरेको छ । पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता रक्षा गर्नु राज्यको दायित्व भएको र यसप्रति गम्भीर हुन र सुनिश्चितता गर्न महासंघ झापाले जोडदार माग समेत गरेको छ ।



















