बिर्तामोड २५ कात्तिक । गत भदौमा २३ र २४ गते झापासहित देशभर भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र कुटपिटका घटनामा संलग्नको पहिचान र पक्राउ गर्न थालेको छ ।
आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा झापाका विभिन्न ठाउँबाट १० जना र इलामका १ र पाँचथरका १ सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनमा आपराधिक कार्यमा संलग्न रहेको भन्दै ५० वटा बढी उजुरी परेको बताइएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–५ का नवराज राई, राजन चौधरी, आयुस धिमाल र पूजा मगर, अर्जुनधारा ७ का सुरज राई, कनकाई नगरपालिका १ का गोपाल संग्रौला, कनकाई ३ का बिष्णु विक, शिवसताक्षी नगरपालिका १० का कुशल तिम्सिना र सञ्जय बस्नेत रहेका छन् ।
दमक नगरपालिका–३ का रियाज सिलवाल, इलामको चुलाचुली गाउपालिका –३ का नकुल अधिकारी, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का साजन ल्वागुनलाई पक्राउ गरिसकेको छ ।
दमक इलाकाले पक्राउ गरेका तीन जनामध्ये सिलवाल र अधिकारीलाई कात्तिक २३ गते र ल्वागुनलाई २२ गते पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनामाथि अपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता बिर्तामोड इलाकाले पक्राउ गरेका मध्ये बिर्तामोड– ५ का ४५ वर्षीय नवराज राई माथि ज्यान मार्ने उधोग कसुरमा अनुसन्धान शुरु गरिएको छ भने अन्य आठजना माथि अपराधिक उपद्रव कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
अपराधिक उपद्रव कसुर अन्तरगत सार्वजनिक र तथा व्यक्तिका घर तोडफोड, आगजनी, लुटपाट लगायतका आरोप मा पक्राउ परेका हुन् ।
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी, दमक र सुरुङ्गाको कार्यालय भवन, सवारी साधन लगायत सरकारी श्रोतसाधनमा तोडफोड, आगजनी र लुटपाट तथा प्रहरीमाथि माथि सांघातिक आक्रमण गर्ने व्यक्तिहरुको सिसिटिभि फुटेज, भिडियो, फोटो लगायतका आधारमा संलग्नता पहिचान गरी पक्राउ गरिएको जनाइएको छ ।
जेन–जी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्न १२ जना पक्राउ



















