विर्तामोड ९ असोज । नेपाली कांग्रेस झापाले देशको वर्तमान विषम राजनीतिक परिवेशमा संयम र शान्तिपूर्ण रुपमा चाडबाड मान्ने/मनाउने वातावरण बनाउन तमाम नेता कार्यकर्ता र आम जनसमुदायमा अपिल गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो अपिल गर्नुभएको हो ।
‘देशको वर्तमान विषम परिस्थितिमा अत्यन्त संयम, धैर्य, सुझबुझपूर्ण ढङ्गले शान्तिपूर्ण रुपमा चाडपर्व मान्ने÷मनाउने वातवरण बनाईराख्न र सामाजिक सद्भाव भड्किन नदिन चनाखो रहन नेपाली कांग्रेस पार्टीका तमाम नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।
देशको वर्तमान जटिल राजनीतिक अवस्थामा पार्टीको आधिकारिक धारणा नआइसकेको उल्लेख गर्दै विज्ञप्तीमा अगाडि भनिएको छ–‘वर्तमान असहज अवस्थामा पार्टीका आन्तरिक फोरममा उठाउनुपर्ने बिषयमा समेत पार्टी निर्णय बिपरित आफुखुसी सार्वजनिक रुपमा मत बिभाजन गरी पार्टीको एकतालाई कमजोर पार्ने गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका साथीहरुमा हार्दिक अपिल गर्दछौं ।’
आपसी मेलमिलाप, सद्भाव र भाइचारा सम्बन्ध बिकसित गर्दै, मितब्ययी ढङ्गमा चाडपर्वहरु मनाउन आम जनसमुदायसमक्ष अनुरोध गर्दै विज्ञप्तिमा नेपालीहरुको महान चाड बडादशै, शुभदिपावली, छठ, ल्होसार, नेपाल संवत्, उधांैली लगायतका चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना पनि ब्यक्त गरिएको छ ।
शान्तिपूर्ण रुपमा चाडपर्व मनाउने वातावरण बनाउन कांग्रेस झापाको अपिल
