झापा । विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष जलकुमार गुरुङले निर्वाचनका क्रममा उपभोक्ता माझ गरेका प्रतिवद्धता पूरा गरेर खानेपानी संस्था सबैका लागि गर्व गर्न लायक बनाउने बताउनु भएको छ ।
खानेपानी कार्यालयमा शुक्रबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले लोकतान्त्रिक प्रक्रियामा प्रतिष्पर्धा स्वभाविक भएको बताउँदै प्रतिष्पर्धी टिमलाई पनि विश्वासमा लिएर अघि बढ्ने बताउनु भयो । निर्वाचनमा जाँदा दलीय प्रतिष्पर्धा भएपनि खानेपानीमा आफ्नो केही स्वार्थ नभएको बताउँदै उपभोक्तालाई गुणस्तरिय पानी पिउने वातावरण निर्माणका लागि आफ्नो टिम सदा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।
दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष गुरुङले उपभोक्ताले आफू र आफ्नो टिमलाई गरेको विश्वास काम गरेर देखाउने अवसर र चुनौति दुवै भएको बताउँदै ती दुवै कुरालाई शिरोधार्य गर्दै खानेपानी संस्थालाई विर्तामोडबासीले गर्व गर्न लायक बनाउन सधैं आफू तत्पर रहने धारणा व्यक्त गर्नुभयो ।

निर्वाचन परिचालन समितिका संयोजक देउमान थेवेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य शुधिरकुमार शिवाकोटी, रा.प्र.पा.का केन्द्रीय सदस्यमा राजकुमार पोखरेल, जिल्ला कार्य वहाक अध्यक्ष कमल खरेल लगायतले निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रमको संचालन प्रचार संयोजक वलराम कार्कीले गरेका थिए ।
मंसीर २५ गते सम्पन्न मतदानबाट गुरुङ नेतृत्वको लोकतान्त्रिक समूहको प्यानलै निर्वाचित भएकोे थियो । २६ गते सार्वजनिक मत परिणाम अनुसार लोकतान्त्रि प्यानलका तर्फबाट अध्यक्षमा जलकुमार गुरुङ, उपाध्यक्षमा पर्शुराम सिटौला, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा शारदा रिजाल, सदस्यहरुमा देवेन्द्र सिटौला, पारस मैनाली, माया खड्की प्रधान, बाला खरेल र सिता भट्टराई निर्वाचित भएका थिए ।
ज्ञानुराम प्रसाई नेतृत्वको प्रगतिशीललाई पछाडि पार्दै लोकतान्त्रिक प्यानलले निर्वाचित भएको हो ।
यसअघि शुक्रबार विहान प्रगतिशील प्यानलकातर्फबाट अध्यक्षका उम्मेद्वार रहेका ज्ञानुराम प्रसाईले नवनिर्वाचित अध्यक्ष जलकुमार गुरुङ घरैमा पुगेर सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

































































































