बिर्तामोड ५ भाद्र । हिन्दु महिलाहरुको महान पर्व तीजका बारेमा तीज पर्वले दिने सन्देश र सामाजिक सञ्जालमा भइरहेका टिका टिप्पणी लगायतका विषयलाई समेटेर तीज विकृत भएको हो वा सशक्तिकरणमा भूमिका खेलेको छ भन्ने कुराको उजागर गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले स्थापना गरेको लेखनवृत्ति आज प्रदान गरिएको छ ।
पत्रकारितामा सुनौलो भविष्य देखेर आएका ४ जना उदियमान पत्रकार महिलाहरुलाई लेखनबृत्ति प्रदान गरिएको हो । तीजको सन्दर्भ पारेर अनावश्यक तस्विरहरु जोड्दै सामाजिक सञ्जालमा आलोचना बढ्न थालेपछि सभ्य रुपमा मनाइने तीजले दिने सन्देश उजागर गर्ने उद्देश्यले नारी सञ्चार गृहकी तत्कालिन निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले गतवर्षको तीजका अवसरमा घोषणा गरेको लेखनबृत्ति यसपाली पहिलो पटक वितरण गरिएको हो ।

शिवाकोटीले संस्थागत रुपमै वितरण गर्ने गरी गतवर्षदेखि आजिवन बार्षिक रुपमा तीजका बारेमा विचार÷समाचार प्रकाशन वा प्रशारण गर्ने एकजनालाई पाँचहजार लेखनबृत्ति प्रदान गर्ने घोषणा गरेकी थिइन् । सोही लेखनबृत्तिलाई संस्थाले ग्रहण गरी यो वर्षदेखि प्रदान गर्न शुरु गरिएको हो । शिवाकोटीले उपलब्ध गराएको पाँचहजार रुपैयाँमा केही रकम संस्थाले थप गरी ४ जनालाई लेखनबृत्ति प्रदान गरिएको हो ।
रञ्जिता खड्का, ममता अधिकारी, सिर्जना परियार र अस्मिता साँखीले तीजका बारेमा विचार प्रस्तुत गरेर लेखनबृत्ति प्राप्त गरेका छन् । पर्व विशेषलाई प्राथमिकतामा राखेर लेखनबृत्ति प्रदान गर्ने सञ्चारकर्मीहरुका संघ संगठन मध्ये नारी सञ्चार गृह देशभरमै पहिलो हो । सञ्चार गृहले गतवर्षदेखि नै लेखनबृत्ति प्रदान गर्दै आएको छ । महिलालाई पत्रकारितामा निखार्दै लैजान सहयोग पुर्याउने उद्देष्यले गतवर्ष (२०८१) साल दुईजनालाई संस्थाकै संस्थापक अध्यक्ष सावित्रा दाहाल र तत्कालिन सहसचिव जोस्ना श्रेष्ठले पाँच/पाँच हजार रुपैयाँको लेखनबृत्ति प्रदान गरेका थिए ।
लेखनबृत्ति प्रदान संगसंगै संस्थाले तीज मिलन कार्यक्रम पनि सम्पन्न गरेको छ । सञ्चार गृहले आयोजना गरेको तीज मिलन कार्यक्रम महिला पत्रकारहरूले गीत, कविता, गजल, लेख रचना आदि प्रस्तुत गरेका थिए भने पत्रकारिता सम्बन्धी क्वीज प्रतियोगिता पनि आयोजना गरिएको थियो।
सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्व अध्यक्ष भिमा शिवाकोटी, रोटरी क्लब अफ मिड टाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
औचित्य माथि निवर्तमान अध्यक्ष रेजिना गौतमले प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष जोस्ना श्रेष्ठ सञ्चालन सचिव दिपा पोखरेलले गरेकी थिइन् ।

































































































