नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औँ दक्षिण एसियाली खेलुकद (साग) मा विजयी सुरुवात गरेको छ। बुधबार भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली महिला भलिबल टोलीले सुखद सुरुवात गरेको हो। पहिलो सेट २५–९ ले जितेको नेपालले दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–११ ले जित हात पार्यो।

भारत स्वर्णको दाबेदार मानिए पनि तुलनात्मक रुपमा कमजोर मानिएको बंगलादेशलाई हराएर नेपाली टिमले सुखद सुरुवात गरेको छ। नेपालले दोस्रो खेलमा विहिवार भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल पनि एभिसी सेट्रल जोनको च्याम्पियन बनेसँगै उच्च मनोबलका साथ सागमा उत्रिएको हो। पहिलो खेलमा जित हासिल गरेसँगै नेपाली महिला भलिबल टोलीले घरेलु मैदानमा आयोजित सागमा पनि स्वर्ण जित्ने लक्ष्यलाई बलियो बनाएको छ। १३ औँ सागको औपचारिक उद्घाटन हुनुभन्दा अघि नै भलिबलका खेल सुरु भइसकेका छन्।



















