काठमाडौं ३० कात्तिक । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त पहलमा ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको छ । उद्दार गरिएकामध्ये एकसय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्दार गरिएकाहरुमा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते बालुवाटारमा यात्राको औपचारिक समुद्घाटन गर्नुभएको थियो भने समापन पनि प्रधानमन्त्री ओलीकै प्रमुख आतिथ्यमा आगामी मङ्सिर ३ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा समापन हुने जनाइएको छ ।
उद्दार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्दार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दारमा सहभागी भएका थिए । उद्दार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको थियो ।
यसअघि पनि आश्रमले २०७९ सालमा पहिलो र २०८० सालमा दोस्रो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सम्पन्न गरिसकेको छ । यस आश्रमले स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिनेसमेत कोही नभएका सहयोगापेक्षी बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा अतिकमजोर र अनाथ भएका १० हजार सातसय ६४ जनाको उद्दार गरिसकेको छ ।
मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका एकहजार नौ सय छ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ भने हालै उद्दार गरिएका दुईसय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ वटा सेवाकेन्द्रमा संरक्षण गरी खाना नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्था गरिएको आश्रमले जनाएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८१’ सफलतापूर्वक सम्पन्न भएको र यसले मानवताको प्रवद्र्धनको अभियानलाई संस्थागत गर्न सहयोग पुग्ने फाउण्डेसनकी अध्यक्ष डोल्मा बताउँछन् ।
सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प गरिनुले यस संस्थाको लक्ष्य २०८२ घोषणाको लागि निकै ठूलो आधार निर्माण भएको आश्रमका संस्थापक अध्यक्ष अधिकारी बताउँछन् ।
‘मेची–महाकाली राष्ट्रिय उद्दार यात्रा–२०८१’ अन्तरगत २३६ सडक मानवको उद्दार



















