बिर्तामोड । साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक सांगीतिक काव्य सभा र पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ ।
साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत चैत्र महिनाको मासिक सांगितिक काब्यसभामा पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन र सम्मान गरिएको हो । साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा प्रा.डा.गंगाप्रसाद अधिकारीकोे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेका थिए ।
साहित्य चौतारीका तत्कालिन सचिव स्व. डिकमान विरहीको शव्द रहेको स्वागत गीत साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठसहितका कलाकारले प्रस्तुत गरेको कार्यक्रमको औचित्यमाथी साहित्य संस्थाका संरक्षक तथा अध्यक्ष श्रेष्ठले प्रकाश पारे ।
कार्यक्रममा अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडालाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ साहित्यकार विरही अधिकारी, विन्दु दाहाल मुकदर्शक , साहित्य चौतारी झापाकी पूर्व उपाध्यक्ष तथा साहित्य चौतारी झापाले स्थापना गरेको गुरुकुल संगीत विद्यालयकी सञ्चालिका कमला नेम्वाङलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई साहित्य चौतारी झापाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार हरिनारायण भट्टराई, भवानी क्षेत्री, सदस्य चित्रा कोइरालालगायतले बाचन गरेको अभिनन्दन पत्र,र सम्मान पत्र , माला, खादा अर्पण गरिएको थियो ।
कार्यक्रममा नेपाली साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक मदन दिपविमको स्मृतिमा श्रद्धा सुमन अर्पणसहित उनको संगीत रहेको भजन साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले प्रस्तुत गरेका थिए । श्रेष्ठले आफूलाई रेडियो नेपालमा स्वर परिक्षामा उत्तिर्ण गराई पहिलो भजन रेर्कड गराउन स्व. दिपविमको ठूलो हात रहेको बताए ।
साहित्यकार मोक्ष खतिवडा, भुषण हुमागाईं, प्रमोद दाहाल, इलामे जेठो, प्रकाश गौतम, चित्रा पौड्याल लगायतले कविता वाचन गरेको कार्यक्रममा रेशिका खड्काले नृत्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्मयन वजगाईं, विज्ञान डाँगी, रक्षा तिम्सिना, रोहिका तिम्सिना, अर्पण सिटौलालगायतले गीत प्रस्तुत गरेका थिए भने आर्ट स्टुडियो महिला नौमती बाजा समूहले नौमती बाजा बजाएर सबैको मन जितेका थिए ।
कार्यक्रममा अभिनन्दीत व्यक्तित्वको तर्फबाट अग्रज श्रष्टा तथा साहित्य चौतारी झापाका २०७५ सालको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ जीवननाथ पोखरेल पन्छी, साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा सल्लाहकार शिरो सान्दाइ खतिवडा, कमला नेम्वाङले सम्मानप्रति खुशी व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव भानुभक्त कुभिण्डेलीले गरेका थिए ।
साहित्य चौतारीद्वारा श्रष्टालाई अभिनन्दन र सम्मान



















