बिर्तामोड १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसलाई लोकतन्त्रको महिषा नठान्न र बढी
फुर्तिफार्ती नगर्न चेतावनी दिनुभएको छ ।
एमाले झापाको बिर्तामोडमा बिहीबार ११ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले काङ्ग्रेसले कम्युनिस्टको सधैं खेदो गरेको आरोप लगाउनुभयो।
काङ्ग्रेसलाई वर्गशत्रुकै रुपमा व्याख्या गर्नु भएका ओलीले सुनका माला देखाएर कम्युनिस्टको विनास गर्ने रणनीति काङ्ग्रेसले अङ्गिकार गरेको जिकिर समेत गर्नु भयो।
“काङ्ग्रेस र राजा मिलेर २००७ सालदेखि नै कम्युनिस्टको खेदो गरेका हुन्” अध्यक्ष ओलीले भन्नुभयो,” काङ्ग्रेसले सधैं एमालेप्रति अस्वस्थ व्यवहार गर्यो, काङ्ग्रेस दमनकारी पार्टी हो ।”
सम्बोधनको अधिकांश समय काङ्ग्रेसको आलोचनामा खर्चनु भएका उहाँले पार्टीको मात्रै होइन, व्यक्तिगत रूपमा पनि काङ्ग्रेस नेतालाई गाली गर्न भ्याउनुभयो।
उहाँले काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई “झिल्के केटो” को संज्ञा दिनुभयो । ” झापा १ मा एउटा झिल्के केटाले जितेको छ, एमालेकै कमजोरीका कारण उसले जितेको हो ” अब झापालाई ४८ सालकै अवस्थामा पुर्याउनु पर्छ , त्यसबेला झापा जिल्ला लालकिल्ला थियो ।”
ओलीले झापा १ का सांसद शर्माले कहिल्यै पनि समृद्ध नेपाल र सुखी नेपाली भन्न नसक्ने आरोप समेत लगाउनुभयो । ८४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नु भएका अध्यक्ष ओलीले अरु केही नदेख्न र मिसन ८४ मात्रै देख्न निर्देशन समेत दिनुभयो।
” मिसन ८४ भनेको एमालेको एक्लो बहुमत हो” उहाँले भन्नुभयो,” एमालेको उडान देखेर अरु दल रुखको हाँगाबाट हामफाल्न खोजिरहेका छन्, अब सबै ठाउँ जित्नु पर्छ, बहुमत ल्याएर शासन गर्ने हो, सबै कुरा छाडेर तपाईंहरु यही मिसनमा लाग्नुस् ।”
उपप्रधान तथा रक्षामन्त्री रवि लामिछानेको खुलेर बचाउ गर्नु भएका उहाँले रविजीका विषयमा काङ्ग्रेसले डबलस्ट्यान्ड देखाएको दलील पेस्नु भयो। ” रविजीलाई प्रधानमन्त्री भइदेउ भन्ने, आफूले भनेको नमान्दिदा गृहमन्त्री नस्वीकार्ने यो काङ्ग्रेस गरेको राजनीतिक बेइमानी हो” ओलीले भन्नुभयो,” आफूले भनेको नमान्दा गृहमन्त्री स्वीकार्दिनँ भन्नू काङ्ग्रेसको डबलस्ट्यान्ड हो ।”
इलाम २ मा सुहाङ नेम्वाङलाई पार्टीले उम्मेदवार बनाएको स्पष्ट पार्नु भएका उहाँले सुहाङ पढेको, युवा र शालीन व्यक्ति भएकोले पार्टीको रोजाइमा परेको बताउनु भयो। इलाम र झापा सीमाना जोडिएका जिल्ला भएकाले सुहाङको जितका लागि जस्तोसुकै सहयोग गर्न नेताकार्यकर्तालाई निर्देशन समेत दिनुभयो।
जिल्ला नेतृत्व सहमतिमा चयन गर्न बारम्बार निर्देशन दिनुभएका उहाँले आफूलाई बिर्सेर पार्टी केन्द्रित भएर अघि बढनुको बिकल्प नभएको बताउनु भयो। पार्टीका अघि व्यक्ति गौण हुने उहाँको टिप्पणी छ ।
” शुद्धीकरण र सुदृढीकरण अहिलेको आवश्यकता हो ” अध्यक्ष ओलीले भन्नुभयो, ” कम्युनिस्टको उद्गम र आधारमूमी हो, यसलाई मनन गरेर अधि बढ्नुस्, सहमतिमा नेतृत्व छान्नुस्।” कोही एक्लै हिड्न खोजे उ दुर्घटनामा पर्ने ओलीको तर्क छ।
आज सुरु भएको एमाले झापाको अधिवेशनले भोलि तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। तथापि,अहिलेकै विवाद कायम रहे त्यो कार्यतालिका परिवर्तन हुने निश्चित जस्तै छ।
अध्यक्ष ओलीको निर्देशन पालना भएमात्रै झापामा एमालेको सर्वसम्मत नेतृत्व छानिने सम्भावना रहेको स्वयं एमाले नेताहरूले जिकिर गरेका छन् । एमाले झापा अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेलको दाबी छ। गिरी कार्यबाहक अध्यक्ष र ढुङ्गेल वर्तमान सचिव हुनुहुन्छ ।
पुराना कम्युनिस्ट र एमाले नेताहरूलाई सम्मान गरिएको कार्यक्रममा नेताहरू अमृतलाल बोहोरा, अष्टलक्ष्मी शाक्य, घनश्याम खतिवडा , विशाल भट्टराई लगायतले आआफ्नो धारणा राखेका थिए । अधिवेशनमा सात सय प्रतिनिधिको सहभागिता रहेको एमाले झापाले जनाएको छ।



















