लक्ष्मीपुर ११ चैत । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को नव दुर्गा सरहे समितिको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बिहीवारे बजारको सामुदायिक भवनमा शनिवार साधारणसभा सम्पन्न भएको हो ।
सरहे समितिका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डीत महेश्वर ओझाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समिति सदस्य मुना चम्लागाईले गरेको कार्यक्रमको सञ्चालन तेजकुमार गिरीले गरेका थिए । कार्यक्रममा नव दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष छबिलाल लम्सालको बिशेष आतिथ्य रहेको थियो ।
सरहे समितिले क्षेत्राधिकार भित्र कसैको मृत्यु भएमा प्रत्येक परिवार सरहे सदस्यले एकसय रुपैयाँ सरहे रकम दिनुपर्ने समितिको नियम छ । १९ सदस्य कार्य समिति रहेको उक्त सरहे समितिले कार्य समितिको घरमा आफन्तको मृत्यु हुँदा समवेदनासहित एकहजार रुपैयाँ प्रदान गर्दै आएको र सदस्यको मृत्यु भएमा एक हजार रुपैयाँ मात्र प्रदान गर्ने गरेको अध्यक्ष रेग्मीले बताए ।
साधारणसभामा समितिको बार्षिक प्रतिवेदन तथा आम्दानी र खर्च, गतको समिक्षा र आगामी कार्ययोजनाका बिषयमा छलफल भएको थियो । समितिमा एक अध्यक्ष, एक सचिव र एक कोषाध्यक्षसहित अन्य क्षेत्र सदस्य र सदस्य गरेर १९ जनाको रहेको बताइएको छ । सरहे समुहमा २६६ घर परिवार सदस्य रहेका अध्यक्ष रेग्मीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
समितिकी कोषध्यक्ष कला भण्डारीले प्रस्तुत गरेको आयब्यय अनुसार उक्त समिति चयन अगाडीको नगद मौज्दात ७२ हजार ३२८ रुपैयाँ, जरिवानाबाट १२ हजार ४००, सामाग्री भाडाबाट ३१ हजार ९००, सदस्यता बापत ४३ हजार ५०० र पाउन बाँकी जरिवाना एकहजार २०० रुपैयाँ गर्दा जम्मा एक लाख ६१ हजार ३२८ रुपैयाँ आम्दानी भएको छ ।
खर्चतर्फ बिविध गरेर जम्मा एकलाख ३२ हजार ५४४ रुपैयाँ, कोषाध्यक्ष सापटी १९७ रुपैयाँ र समितिको सहकारी खातामा २८ हजार ४८७ रुपैयाँ मौज्दात रहेको कोषाध्यक्ष भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । ४ बर्ष कार्यकाल रहेको समितिले प्रत्येक २ बर्षमा साधारणसभा गर्ने गरेको छ ।
नव दुर्गा सरहेको २० औं बार्षिक साधारणसभा



















