सुरुङ्गा १ चैत । आज दिउँसो आएको हावाका कारण झापाको कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको सिमानामा आगलागी भएको छ ।
दिउँसो चलेको हावाहुरीका कारण शिवसताक्षी नगरपालिका–७ बाट शुरु भएको आगलागी बढ्दै कनकाई नगरपालिका–५ स्थित बिहानी टोलमा प्रवेश गरेको थियो ।
हावाका कारण मसलाको हाँगो भाँच्चिदा विजुलीको पोल र तारमा लागेपछि सोही ठाउँबाट उत्पन्न भएको आगो स्थानीय हरिप्रसाद घिमिरेको परालको ढेडीमा सल्किन पुगेको थियो । परालको ढेडीबाट किसानले खेतमा धान काटेर छोडेको लाहार (नल) मा सल्किएको आगो कनकाई नगरपालिका वडा नं.–५ स्थित दिपक लिम्बू र फनकुमार पाठकको काँस(खर) बारीमा सल्किन पुगेको स्थानीयले बताएका छन् ।
बस्तिबाट अलग्गै रहेको ठाउँमा आगलागी भएपनि आगोले फैैलावट बढाउँदै जाँदा आसपासका बस्तिमा त्रास छाउनुका साथै स्थानीय धिरेन लिम्बू र राजन सुन्दासको घर भने जोखिमपूर्ण अवस्थाबाट बचाउन सफल भएको प्रत्यक्षदर्शी भिमा शिवाकोटीले जानकारी दिइन् ।
आगो नियन्त्रणमा लिन स्थानीयको सक्रियता, शिवसताक्षी नगरपालिका र कनकाई नगर पालिकाको दमकलको प्रयोग गरिएको थियो ।
हावाले रुखको हाँगा झार्दा शिवसताक्षी र कनकाईको सिमानामा आगलागी



















