बिर्तामाेड २ फागुन । नेवा: पासा मुना पुचः बिर्तामोडको आयोजनामा बिर्तामोडमा आज सामुहिक बेल विवाह र ब्रतवन्ध सम्पन्न भएको छ।
मुना पुचः बिर्तामोडले (नेपाल संम्वत.११४४ सिल्लाथ्व पंचमी )श्री पंचमीका अवसर पारेर नेवार संस्कार अनुसार सामुहिक बेल विवाह (ईहि) र ब्रतवन्ध (केत पुजा) कार्य अर्जुनधारा स्थित भिमसेन मन्दिर प्रांगणमा बिधिपूर्वक सम्पन्न गरेको हो ।
उक्त सामुहिक वेल विवाह (ईहि)मा चार जना कन्या र ब्रतवन्ध (केत पुजा) कार्यमा छ जना कुमारहरु सहभागी थिए ।
कार्यमा सालबारी , बुट्टाबारी बिर्तामोडका नानीहरू,भद्रपुर , उर्लाबारी र बिर्तामोडका बाबुहरुको सहभागिता रहेको नेवाः पासा मुना पुचः को अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठले नेवाः पासा मुना पुचः बिर्तामोडले हरेक बर्ष गर्दै आएको सामुहिक वेल विवाह (ईहि) र ब्रतवन्ध (केत पुजा) कार्यलाई यस बर्ष नवौं पटक निरन्तरता दिएको बताउनुभयो। वहाँले सामुहिक रुपमा गरिने यस्ता बेल बिबाह र ब्रतबन्ध कार्यले व्यक्तिगत झन्झट कम ,समयको बचत ,खर्च मिक्तवियता, जातीय एकता तथा भाईचाराको विकास र समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
भाषा र संस्कृतिको संरक्षण सम्वर्द्धन मुख्य उद्देश्य राखेर काम गर्दै नेवाः पासा मुना पुचः बिर्तामोडले अन्य विभिन्न सामुहिक क्वाटी, लाखे जात्रा,नेवा फुड फेस्टिवल जस्ता कार्यकमहरु गर्दै आएको छ ।
नेवार समुदायमा कुमारी कन्याहरुको बेल विवाह (ईही यज्ञ) र कुमारहरुको ब्रतबन्ध ( केत पूजा) अनिवार्य मानिन्छ।
नेवार समुदाय बसोबास गर्ने मुलुकका विभिन्न जिल्लाका मुख्य शहरहरु राजधानी काठमाडौं, हेटौडा, बुटवल, धरान, बिराटनगर लगायत विभिन्न क्षेत्रमा पनि बेल विवाह र ब्रतबन्धका कार्यक्रम सामुहिक रुपमा आयोजना हुने गरेको छ ।
बिर्तामोडमा सामुहिक बेल विवाह र ब्रतवन्ध

































































































