काठमाडौं २ फागुन । नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा कुवेतलाई ८ विकेटले पाखा लगाउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।
यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो । कुवेतकी शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेका थिएनन् । कुवेतलाई सस्तोमा रोक्न नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिइन् । रुविना क्षेत्री र कविता कुवरले २–२ विकेट लिए ।
एसीसी वुमन्स प्रिमियर कप लिग क्रिकेटमा नेपाल सेमिफाइनलमा

































































































