बिर्तामोड २७ माघ । बिर्तामोड साना शहरी खानेपानीको महशुल पुर्नविचार गर्न तथा बोटल र जारमा पनि पानी सप्लाईको व्यवस्था मिलाउन सुझाव आएको छ । संस्थाको २१ औं बार्षिक साधारणसभामा बोल्ने उपभोक्ता समेत रहेका अतिथिहरुले समय सापेक्ष महशुल पुर्नविचार गर्न तथा बोटल र जारमा पनि पानी सप्लाई गर्न सके उपभोक्ताको हितमा हुने बताउँदै यस्तो सुझाव दिएका हुन् ।
संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाको बार्षिक गतिविधि, भावी योजना र चुनौति समेटिएको प्रतिवेदन अध्यक्ष बास्तोलाले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन शारदा रिजालले प्रस्तुत गरेकी थिइन ।
नौ हजार उपभोक्ता रहेको संस्थाले गत आर्थिक वर्षमा विभिन्न शीर्षक अनुसार सातकरोड ६३ लाख सात हजार दुईसय ४१ रुपैयाँ आम्दानी गरेको र कुल आय मध्येबाट चारकरोड ३४ लाख ५९ हजार चारसय ९९ रुपैयाँ खर्च गरेर एककरोड ६३ लाख ९८ हजार ७७२ रुपैयाँ बैंकमा मौजात रहेको कोषाध्यक्ष शारदा रिजालको प्रतिवेदनमा उल्लेख छ ।
सभा उद्घाटन सत्रमा प्रमुख अतिथि बस्नेत, संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समितिकी उपाध्यक्ष शान्ता रोक्का, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान प्रमुख ध्रुुबकुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेकपा माओवादीका मोहन सुब्बा, बुधबारे खानेपानीका अध्यक्ष ध्रुव ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । सबै अतिथि वक्ताहरूले बिर्तामोड खानेपानी उपभोक्ता समितिले गर्दै आएको कामको प्रशंसा गरेको संस्थाका सहायक व्यवस्थापक खड्गराज गिरीले जानकारी दिए ।
कार्यक्रममा कर्मचारी प्रकाश शिवा दर्जी, बिर्तामोड ३ का ज्येष्ठ उपभोक्ता चन्द्रबहादुर खड्का, कान्तीदेवी शाह लगायतलाई सम्मान गरिएको थियो ।
पहिलो सत्रको कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए ।
बिर्तामोड खानेपानीको साधारणसभा सम्पन्न, बोटल र जारमा पानी सप्लाई गर्न सुझाव



















