काठमाडौं पुस । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबारका लागि आयोगले तोकेको मनोनयन दर्ताका लागि समयसीमाभित्र सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयनपत्र दर्ता भएको हो ।
कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जनाको उम्मेद्वारी पुगेको छ ।
मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्ग्ता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जनाको उम्मेद्वारी दर्ता भएको छ।
लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारी दर्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्गलता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुनेछ।
गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, प्रदेश सांसद र संघीय सांसद मतदाता रहने राष्ट्रिय सभा निर्वाचनमा कूल मतभार भने ५७ हजार ५५९ रहेको छ ।
जसमा प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४६२ रहेको निर्वाच्न आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि २०४७ मतदाता रहेका छन् ।
आयोगका अनुसार तीनवटा मतभार जोड्दा कोशीमा कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने छ भने मधेश प्रदेशमा १० हजार ७४४ मतभार कायम हुनेछ । त्यस्तै बाग्मतीमा १०३३३ मतभार कायम हुँदा गण्डकीमा ६४१० मतभार कायम हुनेछ ।
लुम्बिनीमा ८७५३, कर्णालीमा ५०८४ र सुदूरपश्चिम प्रदेशमा ६१०० मतभार कायम रहेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनः १९ जनाका लागि ५२ जनाको मनोनयन, प्रदेश अनुसार मतभार

































































































