राजेन्द्र गौतम
माझिको नौका चुक्छ
किसान लौका झुक्छ
हो, हामी अभागी हो
त्यसैले,
अक्सर मौका चुक्छ ।
शालीनको शीर झुक्छ
बेइनानको तिर चुक्छ
हो, यथार्थ यही हो
मौकामा चौका हान्नेको
दृश्य तर सर्वाङ्ग लुक्छ।
मालिकको कुकुर भुक्छ
दूधमा पानी थप्नेको
कि पाडो फुक्छ कि पाडी फुक्छ
सँगै बाछाबाछी फुक्छ
नेपाली संस्कार यही हो
जोगीको छोरोले फेरि फुक्छ।
चलाउनेको काँड चुक्छ
भएकाको साँढ झुक्छ
फेरि पनि सत्य यही हो
जसको छ,
उसको गलगाँड दुख्छ।
ध्रुवसत्य किन नमान्ने
डसना नहुनेको
कम्मर होइन, ढाड दुख्छ
परिश्रम गर्नेको हर दुख्छ
तर, श्रम गर्नेको
तनखा नपाई हरप्रहर डुब्छ।
कसरी भनुँ मरु
भ्रष्टाचार गरेर किर्ना भएकाको
हरपल शरीर फुल्छ।
तर, सात्श्वत सत्य यही हो
उसको जीवन अपसोच
र, आत्मग्लानी झुल्छ।