भद्रपुर ९ मंसीर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा कोशी प्रदेशका पूर्व भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान एवम बार्षिक गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरिएको हो ।
संस्थाको नीति तथा कार्यक्रम सहित बार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ९४८ महिला तथा ६९४ पुरूष र अन्य ५ गरी १६४७ शेयर सदस्य रहेको विवरण प्रस्तुत गर्दै ८२ लाख ८ हजार ५०० शेयर पूँजी रहेको जानकारी गराएका थिए ।
संस्थाका कोषध्यक्ष चन्द्रबहादुर कार्कीले ६ करोड ८६ लाख १० हजार ७२१ रूपैयाँको बार्षिक कारोवार विवरण पेश गर्दै २४ लाख ४२ हजार ३४६ रूपैयाँ सञ्चालन बचत संकलन भएको जानकारी गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले देशको उन्नतिका लागि सहकारीको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारी संयन्त्रबाट प्रभावकारी अनुगमन नहुँदा सहकारीका नाममा ठगी बढिरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
सचिव शालिग्राम नेपालको सञ्चालन रहेको कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट टिकाप्रसाद खनाल र देउमाया मिश्र, उत्कृष्ट बचत कारोवार सम्मानबाट राजेन्द्र खनाल र रेनुकादेवी अधिकारी, उत्कृष्ट ऋण कारोवार सम्मानबाट तुलसा खतिवडा र खड्गबहादुर ठकुरी, उत्कृट सन्नति सम्मानबाट रेमन अधिकारी र एविसा ओलीलाई नगद सहित सम्मान गरिएको थियो ।
उपाध्यक्ष मञ्जु पोखरेलले स्वागत गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेलले धारणा राख्दै कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा नगर सरकारले समेत साथ दिने बताएका थिए ।
प्रकाश एकताको १६ औं सभा सम्पन्न

































































































