सताक्षीधाम २१ कात्तिक । झापाको इतिहासमा लगभग ३५ वर्षपछि आगामी कात्तिक २७ गतेदेखि कोटीहवन हुने भएको छ । यसअघि योगीनरहरिनाथको नेतृत्व र सत्संकल्पमा २०४२ साल पुसमा झापाको कनकाई माई परिषरमा कोटीहवन भएको थियो ।
झापाको सिद्ध शक्तिपीठ सताक्षीधाममा कात्तिक २७ गतेदेखि मंसिर नौ गतेसम्म एकसय आठ कुण्डीय श्रीगोपाल महायज्ञ कोटीहोम र श्रीमद्देवी भागवत महापुराणको आयोजना गरिएको आयोजक संस्था गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजले जानकारी दिनुभयो । श्रीमद्देवी भागवतको प्रमुख वक्ता १००८ स्वामी देवाचार्य रहनु भएको छ ।
‘अयं यज्ञो विश्वस्य भुवनस्य नाभीः । अ. वेद’ को मान्यता अनुरुप कोटीहोमले प्रकृति, पर्यावरण, जीव एवं वनस्पतिको संरक्षण हुने विश्वाससहित ४०१ जना बटुकहरुबाट १३ दिनसम्म हवन तथा देवी महात्म्य कथा प्रवचन हुने महोसत्व आयोजक समितिका सदस्य नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यज्ञ अवधीभर आठहजार किलो तिल, तीन/तीन हजार किलो घिउ, चिनी र जौ, पाँच/पाँच हजार किलो चामल र वनस्पतिसहित २७ हजार किलो चरुको होम गरिने छ । हवनका लागि एकलाख केजी समिधा आवश्यक पर्ने बताइएको छ । सामग्री उपलब्ध गराइदिन सम्पूर्ण धर्मानुरागीमा आयोजकले आग्रह समेत गरेको छ । यज्ञसम्पन्न गर्न एककरोड ८८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलको संयोजकत्वमा गठित महायज्ञ आयोजक समितिले विभिन्न २५ वटा उपसमिति गठन गरी प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, यज्ञकुण्ड, आवास, खाद्यान्न, यातायात व्यवस्थापनका लागि परिचालन गरिएको बताइएको छ । यज्ञ सम्पन्न गर्न झापाका १५ वटै स्थानीय तहले ब्राम्हण/बटुक तथा आवासीय भक्तजनका लागि अस्थायी आवास निर्माण गर्ने प्रतिवद्धता जनाइसकेको आयोजक समितिले जनाएको छ । साथै सबै स्थानीय तह तथा प्रदेश सरकारबाट आर्थिक सहयोगको अपेक्षा गरिएको जनाइएको छ ।
वेदका मन्त्रको पवित्र ध्वनीले अन्तस्करणमा प्रभाव पार्ने र मानवमा सात्विक तथा पवित्र भावनाको जागरण गराउँदै वातावरणको प्रदुषण हटी जलवायु परिवर्तन र वातावरणीय सन्तुलनमा कोटीहोमले महत्वपूर्ण भूमिका खेल्ने वैदिक ग्रन्थमा उल्लेख छ ।

सनातन धर्ममा दिनानुदिन हुँदै आएको आक्रमण, हत्या, हिंसा, धर्मपरिवर्तन र गौहत्यालाई रोक्ने पवित्र उद्देश्य राखेर आयोजना गरिएको यज्ञले आम मानवमा आध्यात्मिक र नैतिक उन्नतिको मार्ग अनुशरण गर्दै सात्विकता प्रदान गर्ने आयोजक समितिद्वारा जारी प्रचार सामग्रीमा उल्लेख छ ।
पर्यटन वर्ष २०२०लाई लक्षित गरी आयोजना गरिएको यज्ञमा नेपाल भारत भुटानकासहित उच्च राजगुरुहरु र पाँचलाख भक्तजन उपस्थित हुने अपेक्षा आयोजक श्रीशताक्षी अष्टोत्तरशत्कुण्डीय श्रीगोपाल महायज्ञ (कोटीहोम) एवम श्रीमद्देवीभागवत कथा महोत्सव २०७६ ले राखेको छ ।
महायज्ञ नजिकिंदै गएसंगै यज्ञस्थलमा अस्थायी संरचना निर्माण कार्य तीब्र बनाइएको छ । सोही अन्तरगत १०८ कुण्डीय हवनस्थलसहित आवासहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको महोसत्व आयोजक समितिका सदस्य अधिकारीले बताउनु भयो । साथै भक्तजन तथा सहयोगीहरुको आगमन पनि बाक्लिएको छ । हवन कार्यमा नेपालका ६५ जिल्लाका ब्राह्मणसहित भारतका हरिद्वार, बृन्दावन, बनारसबाट समेत सहभागीता रहने बताइएको छ ।



















