बिर्तामोडको ब्यापारिक क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहँदै आएका मारवाडी समुदायले बिर्तामोडमा आयोजना गर्न लागिएको अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव ब्यापारी–व्यवसायीका लागि महत्वपूर्ण भएको धारणा राखेका छन् ।
मेला संयोजक तथा बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको संयोकत्वमा भएको छलफलमा मेला सबैे व्यापारी व्यवसायीका लागि महत्वपूर्ण पाटो भएको धारणा राखे ।
बिर्तामोडमा ब्यापार व्यवसाय शुरु गर्दादेखि नै व्यापारिक दृष्टिले महत्वपूर्ण भूमिकामा रहेका मारवाडी समुदायले मेलामा बिर्तामोड बजार सजावट, मेलामा स्टल राख्नुको महत्व बुझाउनु पर्नेमा जोड दिएका मारवाडी समुदायका अगुवा तथा युवा व्यवसायीले सरसफाई, सुरक्षा ब्यवस्था, चोकबाट मेलास्थलसम्म जाने यातायातका साधनमा भाडादरको एकरुपता कायम गरिनुपर्ने, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाए ।
बाणिज्यसंगका पूर्व अध्यक्ष बेदप्रकाश अग्रवालले मेलाका कारण सबैलाई केही न केही फाइदा हुने बताउँदै मेला सफल बनाउनु सबैको दायित्व रहेको धारणा राखे । देशविदेशका उपभोक्ता र उत्पादक जोडिने हुँदा मेलाको माध्यमबाट अघिपछि पनि फाइदा हुने बताए । साथै अग्रवालले मेलाको आकर्षणका लागि बिर्तामोड बजारलाई आकर्षक बनाएर सजाउनु पर्नेमा उनको जोड थियो ।
छलफलकै क्रममा मारवाडी सेवा समूह बिर्तामोडका अध्यक्ष मोहन मित्तलले व्यवसायका लागि मेला मेरूदण्ड नै भएको बताउँदै महोत्सवमा स्टलबाट हुने फाइदाबारे व्यवसायीलाई जानकारी गराउनुपर्ने धारणा राखे । साथै विर्तामोड महोत्सवलाई नमुना बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । व्यापारी, व्यवसायीका लागि मेला अवसर भएको उनको भनाई थियो ।
त्यस्तै मारवाडी युवामञ्चका अध्यक्ष टेकेन्द्र अग्रवाल ( टोनी) फुडस्टलमा पनि कार्पेटिङ गर्नुपर्ने, धुलोको व्यवस्थापन गर्नुपर्ने बताए । साथै मेलास्थलमा धुलो नियन्त्रण हुनुपर्ने टोनीको सुझाव थियो ।
रवि शर्माले फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने, महोत्सव अवधीमा बिर्तामोड नगरको सफाई ध्यान दिनुपर्ने बताए ।
मारवाडी युवा मञ्चका सचिव जीवनकुमार अग्रवालले महोत्सवस्थलमा राखिने खाद्य सामग्रीको (खाना)को रेट तय गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।
सो अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष नैनकला भट्टराई, राधिका चुडाल लगायतले आ–आफ्ना धारणा राखेको मेला आयोजक समितिका सचिव कुशल खतिवडाले जानकारी दिए ।
आगामी फागुन ५ गतेबाट हुने बिर्तामोड अन्तर्राष्ट्रिय ओैद्योगिक व्यापार महोत्सव भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि सरोकारवाला पक्षसंग छलफललाई तिब्रता दिएको छ ।
औद्योगिक मेला व्यापारी, व्यवसायीका लागिका अवसर : मारवाडी समुदाय

































































































