विर्तामोड १६ मंसीर । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले देशले नेतृत्व परिवर्तन खोजेको बताएका छन् ।
लोकतान्त्रिक–बाम गठबन्धन क्षेत्र नं–२ निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका शिवाकोटीले शुक्रबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न नेपाली कांग्रेसका गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समिक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
निर्वाचनमा प्राप्त मत परिणाम र युवा पंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको बताउँदै शिवाकोटीले अबको पाँचबर्षमा पुरानो नेतृत्व आफैं पाखा लाग्ने स्थिति रहेको धारणा राखे । यसबर्ष पुरानो र नयाँको संयोजनमा नै सरकार गठन हुने सम्भावना बढी देखिएको उनको भनाई थियो ।
निर्वाचन परिचालनमा नेपाली कांग्रेसका वडा सभापतिले खेलेको सक्रिय भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दै शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखे।
संविधानमा रहेको समानुपातिक ब्यवस्थाका कारण कुनैपनि दलको बहुमत नआउने स्थिति रहेको बताउँदै संविधानसभा सदस्य समेत रहेका शिवाकोटीले गठबन्धन विना कुनै पनि दलका लागि सरकार सञ्चालन असम्भव रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले मतदाताको आकर्षण लोकतान्त्रिक पार्टीप्रति देखिएको बताउँदै आगामी निर्वाचनलाई लक्षित गरेर कार्ययोजना तय गरी संगठन विस्तार र परिचालनमा ध्यान दिनुपर्ने बताए ।
झापा क्षेत्र नं–२ का क्षेत्रीय सभापति खगेन्द्र मैनालीले पराजयले आफू विचलित नभएको बताउँदै नयाँ सिराबाट संगठन परिचालनमा पाँचवर्षे कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अधिकांश वडा सभापतिहरुले पार्टीको समानुपातिक उम्मेद्वार चयनमा देखिएको परिवारवाद, समानुपातिक उम्मेद्वारहरुको निस्क्रियता, स्पष्ट एजेण्डाको कमी, पुरानै नेतृत्वको पुनरागमन आदि कारणले पार्टीको समानुपातिक मत खस्किएको धारणा राखेका थिए ।
बैठकमा निर्वाचन परिचालन समितिका सदस्यहरु दिपक तामाङ, सिता पौडेल, रुद्र चापागाई, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सचिव चन्द्र चुडाल, झापा क्षेत्र नं–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्य, विर्तामोड नगर सभापति भोजराज सिटौला, अर्जुनधारा नगर सभापति हेमराज खरेल, बुद्धशान्ति गाउँ उपसभापति मनेष दाहाल, अर्जुनधारा नगर सचिव इन्दिवरसिंह खड्का लगायत सबै वडाका वडा सभापति एवं पार्टी प्रतिनिधिहरुले आ–आफ्नो वडाको अवस्थाबारे बताएका थिए । झापा क्षेत्र नं–२ मा २५ वटा वडा रहेका छन् ।
बैठकले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तरगत प्रत्यक्षतर्फ गठबन्धनको पक्षमा एवं समानुपातितर्फ पार्टीको पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, शिक्षक, कर्मचारी, प्रहरी÷प्रशासन, सञ्चारकर्मी, मानवअधिकारवादी, सबै राजनीतिक दल एवं सम्पूर्ण मतदाताहरुमा धन्यवादसहित आभार ब्यक्त गरेको छ ।
देशले नेतृत्व परिवर्तन खोजेको छ–शिवाकोटी

































































































