झापा ।आसन्न मंसीर ४ गते हुने आम निर्वाचनलाई लिएर चर्चामा रहेको क्षेत्र हो प्रदेश नं.–१ । झापा–१ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल मुख्य प्रतिष्पर्धी देखिएका छन् । अनुकूलता र प्रतिकूलताको लेखाजोखा र जोडघटाउको हिसाब–किताब हुन थालेको छ । झापा १ मा यी दुईसहित ११ जना चुनावी प्रतिष्पर्धामा छन् । जसमा ३ जना महिला प्रतिनिधिसभाको निर्वाचनको मैदानमा होमिएका छन् । यी मध्ये मुख्य प्रतिष्पर्धा कांग्रेसका शर्मा र एमालेका खरेलबीच नै देखिन्छ ।
अग्नि खरेल झापाली नेता
मोर्चाको राजनीति, जनवर्गीय संगठनको राजनीति, पेशागत संघसंगठनको राजनीतिको पृष्ठभूमि हुँदै ‘राजनीति जनताको सेवा हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै भूगोलको राजनीतिमा आएका अग्नि खरेल नेकपा एमालेभित्रको सशक्त नेता हुन् । उनी पहुँच, प्रभाव, विद्धता र जनतासँगको घुलनशीलताको हिसाबले जनतामाझ सकारात्मक छाप छोड्न सफल नेता हुन् । जीवन निर्वाहको क्रममा २०२३ सालमा बैगुनधुरा र २०२४ सालदेखि साविकको महारानीझोडा र हालको गौरादहमा खरेलको मूल घर रहेको छ भने हाल विर्तामोडमा उनी सपरिवार स्थायी रूपमा बसोबास गरिरहेका छन् । २०३४ सालमा गौरादहस्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका खरेलले २०३७ सालमा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रमाणपत्र लिएका थिए । २०३७ सालमै तत्कालीन नेकपा मालेको झापा गौरादहको स्थानीय कमिटीमा आबद्ध भएर उनले राजनीतिक जीवनको यात्रा अघि बढाएका थिए । वरिष्ठ अधिवक्ता खरेल २०६४ र २०७० सालको संविधानसभा सदस्य रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा खरेल कानुनमन्त्री थिए । हाल एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज समेत हुन् । उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन् ।
विश्वप्रकाशको आफ्नै छबि छ
२०२७ पुस ६ गते जन्मेका विश्वप्रकाश शर्मा यतिबेला नेपाली राजनीतिको सङ्कथनको केन्द्रमा छन् । २०४० सालमा धुलाबारी मावि झापाको नेपाल विद्यार्थी संघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए भने २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका थिए । २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बनेर २०५३ सालमा नेवि संघ महामन्त्री बनेका थिए । २०५३ पुसमा नेवि संघ केन्द्रीय उपसभापति बनेका शर्माको उन्नतिको क्रम रोकिएन । २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । २०७२ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित बनेका शर्मा २०७४ सालमा नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । हाल उनी नेपाली कांग्रेसको महामन्त्री छन् ।
खरेल जनताका पहुँचका नेता खरेल
पार्टी नहेरी गुनासो सुन्ने र आफ्नो तर्फबाट समस्या समाधानको पहल गरिहाल्ने उनको स्वभाव छ । जनताको सहज पहुँचमा रहेका नेताको रूपमा खरेल झापालीमाझ परिचित छन् । लामो संघर्ष, दुःख, त्याग, तपस्या, बलिदान, आँसु, रगत र पसिनाको मूल्यमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । तर, यसका संवाहक, अभियन्ता तथा नेतृत्वकर्ताका कारण मुलुक पश्चगमनमा जानुहुँदैन र लोकतन्त्रको विकल्प खोजिनु हुँदैन भन्नेमा उनी दृढ छन् । आजको लोकतन्त्रको विकल्प अझ उन्नत, अझ प्रगतिशील, अझ जनमुखी लोकतन्त्र मात्र हुनसक्छ भन्ने उनको स्पष्ट मत छ । जनसंघर्ष र जनान्दोलनबाट अभिव्यक्त जनमतका आधारमा गठित संविधानसभाबाट निर्माण भएको संविधानका पक्षमा सबै दृढतापूर्वक उभिनुपर्नेमा उनी जोड दिन्छन् । नेपालको संविधान गतिशील र लचकदार दस्तावेज भएकाले समयानुकूल आवश्यक संशोधनको लागि पर्याप्त ठाउँ रहेको सच्चाइलाई सबैले आत्मसात गर्नुपर्ने उनको राय छ ।
आफ्नो जीवनका ६ दशक उमेर व्यतीत गरेका खरेल झापाली एमालेजनका लागि अध्यक्ष केपी ओली पछिका भरोसायुक्त नेता हुन् । कार्यकर्तामाझ लोकप्रिय खरेल प्राज्ञिक क्षेत्रका मानिससँग पनि सुमधुर सम्बन्ध राख्छन् । सञ्चारमैत्री व्यवहार देखाउने खरेल जनता, कार्यकर्ता र बुद्धिजीवीसँग पनि उत्तिकै सहजतापूर्वक पेश हुन्छन् । खरेलको पूर्वाधार निर्माण र विकास निर्माणप्रतिको लगाव, सबै वर्ग र तहतप्काका जनतासँग सहजै सम्पर्क गर्ने र समायोजन हुने र मुलुकमै एउटा परिचित व्यक्तित्वको छबिकै कारण आशा र भरोसाका साथ झापा–१ का कार्यकर्ता र मतदाताले उनलाई सुझबुझपूर्ण रूपमा लिइरहेको एमालेजनको भनाइ छ ।
लोकतन्त्रका पक्षधर विश्वप्रकाश
सकारात्मक, लोक कल्याणकारी, तर्कयुक्त र वैज्ञानिक सोचका धनी शर्मा वाकपटु र वक्तृत्वकलामा सिपालु नेता मानिन्छन् । उनी नेपाली कांग्रेसका त्यस्ता नेपाली युवा राजनीतिज्ञ हुन् जोसँग टाउकोमा देश बनाउने चित्र छ भने हृदयमा नेपाली माटोको ममता छ । पछिल्लो पुस्ताका आशालाग्दा नेता शर्माको रगतमा मानवता सञ्चारित छ । एक प्रभावशाली युवा नेताको उज्ज्वल छबि बनाएका शर्मा कुनै ठूला नेताको कृपाले होइन, आफ्नै कार्यकुशलता र आम कांग्रेसी कार्यकर्ताको विश्वास, माया र भरोसाका कारण आजको उचाइमा पुगेका हुन् । उनी यतिबेला जिल्लाको राजनीतिबाट माथि उठेर केन्द्रीय राजनीतिलाई हस्तक्षेप गर्ने अवस्थामा पुगेका छन् ।
शर्माको लोकप्रियता र क्षमताका कारण उनीप्रतिको विश्वास र भरोसा निरन्तर बढ्दो छ । शर्माको संस्कार नेपाली राजनीतिक क्षेत्रमा अनुशरणीय छ । आफ्नै पार्टीमा मात्र होइन, विपक्षीसम्म उनको जीत र हारलाई सभ्यतापूर्वक र शालीनताका साथ स्वीकार्ने राजनीतिक संस्कार सदैव चर्चाको विषय बनेको छ । विद्यार्थी नेताका रूपमा मात्र होइन, पार्टी केन्द्रको प्रवक्ताको रुपमा पनि उनले आफ्नो क्षमता देखाइसकेका छन् । पार्टीलाई चलायमान बनाउन उनले गरेको मेहेनत अघिल्ला प्रवक्ताहरुको तुलनामा धेरै माथि छ ।
अघिल्लो पुस्ताले निकै संघर्ष गरेर, रगत दिएर र जेलमा जीवन दिएर निर्माण गरेको यो संविधान र व्यवस्था ल्याइएकाले अबको संघर्ष आर्थिक क्रान्तिको लागि हुनुपर्ने उनको धारणा छ । त्यसैले राजनीतिकभन्दा पनि राजनीतिमा परिवर्तन आवश्यक रहेको उनको ठम्याइ छ । उनी भन्छन्, ‘राजनीतिमा परिवर्तन भएपछि देशका सबै परिवर्तनका ढोका खुल्छन् ।’ बीपीको आदर्शलाई पछ्याउँदै उनी राजनीतिलाई सेवासँग गाँस्नुपर्ने मान्यता राख्छन् । तर, राजनीति सेवामुखी नहुँदा, राजनीति गर्नेहरू असहिष्णु बन्दा, राजनीतिक दुश्मनी कायम राख्दा र राजनीतिलाई गाउँमुखी नबनाउँदा आजको अविश्वासको अवस्था आएको उनको भनाइ छ ।
खरेल र शर्मा दुवैबाट झापालीलाई आशा
झापा–१ का मतदाताका सामु दुई यस्ता विकल्प दिइएको छ । एक रोज्दा अर्को छोडेकोमा पछताउनुपर्ने । एमाले उम्मेदवार खरेल र नेका उम्मेदवार शर्मा दलगत आग्रहभन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषयमा जोड दिन्छन् । दुवैको विचारमा मुलुकको विकास–निर्माणको नीति सबैको साझा दृष्टिको प्रश्न हुनुपर्छ । देशको सम्मान, स्वाभिमान र समृद्धिसँग कुनै सम्झौता हुँदैन भन्ने दुवैको राय छ । उनीहरूको विचारमा नीतिगत सुनिश्चितता देशको समृद्धिका लागि अनिवार्य आवश्यकता हो । संसदीय निर्वाचनको अभियान खर्चिलो र अपारदर्शी भएको यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सघाउ पु¥याउँछ र सहिष्णुता र सुसंस्कृत राजनीतिको लोकतान्त्रिक चरित्र निर्माण गर्न सकिनेमा दुवैको समान राय छ ।
दुवै नेता आफ्ना दलभित्रका नरम, उदार र लचकदार नेता मानिन्छन् । दुवै जना सञ्चारक्षेत्रसँग नजिकिन मन पराउने बहिर्मुखी छन् । उनीहरू प्रश्नलाई प्रोत्साहित गर्ने र जवाफमा जिम्मेवार बन्ने सूत्रलाई आत्मसात गर्छन् । पार्टीभित्रको प्रतिस्पर्धा होस् या बाहिरकासँग, लोकतान्त्रिक प्रक्रिया अंगिकार गर्नु पर्नेमा उनीहरूको जोड छ । उनीहरूको सोचमा सुशासन, पारदर्शिता र सदाचार परिवर्तित राजनीतिको मूल संस्कार हुनुपर्छ । उनीहरू राजनीतिप्रति नागरिक वितृष्णाको एक मुख्य कारण सर्वत्र व्याप्त भ्रष्टाचार भएको मान्छन् । उनीहरूको विचारमा अब शासकीय प्रणालीको होइन, शासन संस्कार पद्धतिको बहस हुनुपर्नेमा जोड दिन्छन् । राजनीति, राजनीतिज्ञ या राज्यप्रति सञ्चारमाध्यम या कहीँबाट पनि उठ्ने सकारात्मक या नकारात्मक कस्तै प्रश्नलाई पनि प्रथमतः प्रश्नकर्ताको लोकतान्त्रिक अधिकारका रूपमा लिइनुपर्छ भन्ने उनीहरूको धारणा छ ।
मुलुकको भविष्यप्रति दुवै नेता आशावादी छन् । देशमा केही पनि भएको छैन भन्दा पनि देशमा केही भएको छ, धेरै गर्न बाँकी छ भन्ने भावना जनजनको मनमा दृढ ढंगले विकसित गर्न जरुरी छ । महत्वपूर्ण राजनीतिक परिवर्तनहरूले देशलाई उज्यालो भविष्यतर्फ अग्रसर हुन मार्गप्रशस्त गरिसकेको छ भने अस्थिरता र हिंसात्मक द्वन्द्वको बीच पनि देखिने गरी आर्थिक र भौतिक प्रगतिका केही कार्य देशमा भएका छन् । संसारमा जतिसुकै सुन्दर राजनीतिक प्रणाली किन नहोस्, जनताको हित र देशको प्रगति प्रणाली मात्रैमा होइन, त्यसका सञ्चालकको प्रवृत्तिमा बढी निर्भर हुन्छ भन्ने दुवैको समान धारणा छ ।
नेकाभित्रको गुटबन्दीको असर
नेका महामन्त्री शर्माका विचार सुन्दर भए पनि झापामा उनको प्रशंसा मात्र छैन । उनका कटु आलोचक पनि छन् । यस्तो लाग्छ– उनलाई सिध्याउने परकाले वा अन्य दलकाले होइन, आफ्नैले हो । दिनको घामजत्तिकै सत्य के हो भने नेपाली कांग्रेसभित्र गुटउपगुट छन् । तर जुनसुकै बहानामा पनि चेतनाको घाम झुल्कने झापाली माटोबाट उठेको राष्ट्रिय प्रतिभालाई केन्द्रीय राजनीतिको शीर्षासनमा पु¥याउन गुटउपगुटबाट मुक्त भएर साथसहयोग गर्नु झापालीका लागि आवश्यक छ, तर सन्देह यसमा छ कि कतै शर्माका सम्बन्धमा झापाली कांग्रेसी वीचमै मतैक्यता नहोला कि ? यसै कारणले कष्टसाध्य जन्म लिएको एक प्रतिभाको विपक्षमा झापाली आवाज मुखरित हुने त होइन ? झापा–१ का जनताले दुई पटक त उनलाई अस्वीकृत नै गरिसके । हारको ह्याट्रिक हुँदैन भन्दै उनी फेरि मैदानमा उत्रेका छन् । बुझ्नुपर्ने कुरा के हो भने विश्वप्रकाश शर्मासँग आफ्नो मिहिनेत र सार्वजनिक साखबाहेक अर्को कुनै वंश–विरासत छैन, भुइँबाट उठेको र भुइँमान्छेसँगै रमाउने प्रेम, स्नेह र विवेकको संगमका रुपमा शर्माले काँग्रेस राजनीतिमा आजको उचाइ बनाएका छन् । शर्मा भन्छन्–को, के बन्ने ? प्रश्न यो मात्रै होइन, वीपी संस्कारको जगमा बदल्नुछ, देश र कांग्रेस । उनले नारा दिए–हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन ! नेपाली कांग्रेसको घटिरहेको साख जोगाउन र राष्ट्र र राष्ट्रियताको संरक्षणका लागि उनले आफ्नो उम्मेदवारी अति आवश्यक रहेको बताएका छन् । असल राजनीति र नेतृत्वको परिभाषा दिँदै उनी भन्छन्–देशको मुहार बदल्नु छ त राजनीतिको मुहार बदलिनु पर्छ ।
वास्तवमा राजनीतिको मुहार बदल्ने अभियानले तागत प्राप्त गर्छ । भविष्य बोकेको जाँगरिलो युवाको सार्थक हस्तक्षेपले नेपाली कांग्रेस थप समृद्ध हुन्छ । यही सार्थक बदलावका लागि शर्माको उम्मेदवारी परेको छ । आशा गर्न सकिन्छ– नवीन कांग्रेसका लागि नवीन सोच र अग्रगामी दृष्टिकोणसहितको नवीन पुस्ताको नेतृत्व आजको खाँचो हो भन्ने उनको सोच अनुमोदित हुनेछ, तर यो कुरामा विश्वास किन गर्न सकिन्न भने विश्वप्रकाशको यो प्रगतिले झापाकै केही प्रभावशाली कांग्रेसीहरूलाई नमीठोसँग पोल्छ, औडाहा हुन्छ र ईष्र्याले हियो जल्छ । अनि कसरी उनको जीत सुनिश्चित हुन सक्छ ?
उनलाई विजय र सफलताको भरोसा प्राप्त हुनेछ भन्ने कुराको कुनै ग्यारेन्टी छैन । पहिलो पटक २०७० मा रविन कोइरालासँग पराजय हुँदा बदर मतलाई ‘जनताको मन जितेको तर मत जित्न नसकेको’ बताएका थिए शर्माले । दोस्रो पटक २०७४ सालमा पनि उनले मन र मत दुवै जित्न सकेनन् ।
जोडघटाउको अवस्था के छ ?
अग्नि खरेल आफ्नो जीतको पहिलो आधार स्थानीय तहको मत रहेको बताउँछन् । स्थानीय तहको मतको आधारमा एमाले पहिलो शक्ति हो । गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम मत छ । स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा शर्मालाई अनुकूल अवस्था देखिंदैन । गठबन्धनका अन्य दलको मत न्यून रहेकाले बल एमालेको पक्षमा छ । स्थानीय तहमा एमाले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५ र एकीकृत समाजवादीको पक्षमा १ हजार २५२ मत खसेको छ । मेचीनगरका १५ मध्ये ११ एमाले, ३ नेका र १ माओवादी केन्द्रले जितेको छ ।
झापा–१ अन्तर्गत प्रदेशसभा (ख) मा उम्मेदवार छनोटमा भएको पक्षपात, गुटबन्दी र एकाधिकारवादी क्रियाकलापका कारण मेचीनगरमा माओवादी केन्द्रका नेता कार्यकर्ताद्वारा सामुहिक राजीनामा दिइएको थियो । नेकपा माओवादी केन्द्रले श्यामवीर लिम्बु (सौभाग्य) लाई टिकट दिएपछि असन्तुष्टि चुलिएको थियो । नेता कार्यकर्ताले सामुहिक राजीनामा दिएर एक विज्ञप्ति जारी गर्दै माओवादी पार्टी परित्यागको घोषणा गरेका थिए ।
एमालेभित्रको आन्तरिक असन्तुष्टिबाट लाभ लिने ध्याउन्नमा कांग्रेस छ । तर आन्तरिक विवाद नभएको र जीत निकाल्ने दाबी एमालेको छ । स्थानीय तहको चुनावलाई हेर्दा दमक, कनकाई, विर्तामोड, मेचीनगर लगायतका नगरपालिकामा नेपाली कांग्रेसको माओवादीसँग विश्वासको वातावरण नभएको प्रस्टै देखिएको थियो । हार बेहोरेकै ठाउँमा पनि कांग्रेसको तुलनामा माओवादी केन्द्रका उम्मेदवारलाई थोरै मात्र मत परेको थियो । कांग्रेसभित्रको गुटबन्दी र गठबन्धनका दलभित्र इमान्दारिता नदेखिने हुँदा खरेललाई सहज देखिन्छ । केन्द्रस्तरमा राम्रो पकड राख्ने र मुलुकमा उज्ज्वल छबि बनाएका शर्माका लागि यो चुनाव जित्न अत्यन्तै कठीन रहेको धरातलीय यथार्थ छ । शर्मालाई जीत निकाल्न सहज देखिदैन । शर्मालाई न गठबन्धनको मुख्य शक्ति माओवादी केन्द्रको त्यति धेरै आड छ, न आफ्नै दल नेपाली कांग्रेसबाट असहयोग र अन्तर्घात हुँदैन भन्ने कुनै ग्यारेन्टी छ ।
निष्कर्षमा भन्दा, सबै कुरा जनताजनार्दनको हातमा छ । चुनाव प्रचारप्रसारका क्रममा उठेका उद्वेलन र गलत सूचनाका उछाचलपाछालका कारण चुनावी हारजीत हुनुभन्दा राजनीतिक एजेण्डा र व्यक्तित्वको प्रस्तुतीकरणको तुलनात्मक अध्ययनबाट निसृत विचारका जगमा मत बनाउनु मतदाताको कर्तव्य हो । प्रत्यक्ष र परोक्ष रूपमा झापा–१ का जनताका लागि बढी फाइदाजनक कसको जीतले सुनिश्चित गर्छ भन्ने कुरा स्वयम्ले निक्र्यौल गर्ने विषय हो । अहिलेसम्मको तुलनात्मक विश्लेषणमा खरेल नेतृत्वको प्रतिनिधिसभा र प्रदेशसभाका ३ जना उम्मेदवारहरू बढी सेफ जोन वा सुरक्षित रहेको एमाले निकट स्रोतको दावी छ ।
विश्व र अग्नी कसले बाजी मार्ला ? अग्निको टिम सेफ जोनमा रहेको दावी

































































































