विर्तामोड । आदिबासी-जनजाति नेत्रहिन संघद्वारा स्थापित छात्रवृत्ति वितरण गरिएको छ । संस्थाका अध्यक्ष भोजकुमार तामाङको अध्यक्षता र संविधानसभा सदस्य प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघद्वारा स्थापित एकलाख १० हजार पाँचसय २५ रुपैयाँको अक्षयकोषबाट प्राप्त आम्दानी छात्रबृत्तिस्वरुप पवित्रा तामाङलाई प्रदान गरिएको छ ।
दृष्टि बिहिनले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् तथा सानो सहयोगले भएपनि अध्ययन निरन्तरतामा प्रेरणा प्राप्त होस भन्ने उद्देश्यले संगले स्थापना गरेको छात्रबृत्ति यो वर्ष पवित्रा तामाङलाई प्रदान गरिएको छ ।
उच्च शिक्षा अध्ययनरत झापा बाहुनडाँगीकी तामाङलाई प्रमुख अतिथि गिरीले छात्रबृत्तिको रकम हस्तान्तरण गर्नुभएको थियो ।
नरेन्द्र मेयाङबोको स्वागत तथा दिलकुमार राजवंशीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि गिरी, संगीतकार शिवसंकर थापा, संस्थाका सल्लाहकार कृष्ण थेवे, विर्तामोड नगरपालिका वडा नं–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, राजपाका झापा अध्यक्ष सूर्यनारायण गणेश, छठ समाज सेवा समिति विर्तामोडका अध्यक्ष रामु सिंह, दाता इन्द्र निरौला, नेकपा एमाले भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा बक्ता राजभण्डारीले संघको अक्षयकोषका लागि पाँचहजार पाँचसय ५५ रुपैयाँ, संघका कोषाध्यक्ष अविरल लिम्बूले ११ सय रुपैयाँ प्रदान गरेका थिए । सहभागी वक्ताहरुले अक्षयकोषलाई अझ बढाएर लैजानुपर्नेमा जोड दिए ।
आदिबासी-जनजाति नेत्रहिन संघद्वारा छात्रबृत्ति वितरण

































































































