खोटाङ १० असार । खोटाङको बाराहपोखरी गाउँपालिका–५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा शकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेसगै कर्तब्य गरी हत्या गर्ने मृतकका नाती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–३ का २९ बर्षीय हरी भनिने निरबहादुर खडका रहेका छन ।
बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडिसकेको अवस्थामा महिलाको बेवारिसे शव फेला परेको थियो । अनुसन्धानको क्रममा शबको पहिचान खुलेसंगै खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुट्टा घर भई हाल इटहरी उपमहानगरपालिका–१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको खुलेको थियो । सोही हत्यामा संलग्नताको आरोपमा नाती निरबहादुर खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
हजुरआमाको हत्यापछि फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते पक्राउ गरेको १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्नका लागि भन्दै बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिएर गएका थिए । सोही क्रममा बराहपोखरी–५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी तुलसाको हत्या गरी खाल्डोमा पुरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्वन्धि कसुरमा जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
गौरादहका–३ निरबहादुर हजुरआमाको हत्या आरोपमा पक्राउ



















