बिर्तामोड २९ फागुन । नेपाल प्रेस युनियन झापाले स्थापना गरेको अक्षयकोषमा विर्तामोड निवासी सि.के.–गिरिराजकुमारी प्रसाईका परिवारले ५० हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको छ ।
आफ्नी स्वर्गीय आमा गिरिराजकुमारी प्रसाईंको बार्षिक पुण्यतिथिको अवसर पारेर छोरा–बुहारी विवेककेशरी–संगिता प्रसाई छोरीहरु रमिता प्रसाईं, नम्रता विष्ट, नातीहरु आयुष्मान, अनुदान र अपेक्षा प्रसाई एवं बहिनी रोशन कार्कीलगायतले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, केन्द्रीय पार्सदहरु यज्ञप्रसाद पाठक, लक्ष्मी लुइटेल, सचिव डिल्लीराम घोर्सांई, सहसचिव स्वस्तिका आचार्यलाई प्रसाई निवासमै उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सि।के। चिन्तन प्रतिष्ठानका संरक्षक समेत रहनुभएका विवेककेशरी– संगिता प्रसाईं परिवारले शैक्षिक, सामाजिक लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण छत्रमानसिंह केशरी प्रसाई ९सि।के० र गिरिराजकुमारी प्रसाईंले जेल, नेल, निर्वासन लगायतका सजाय भोग्नुपरेको थियो । वी.पी. कोइराला सँगसँगै आन्दोलनमा हिड्नुभएका सि.के. प्रसाईको २०५० साल फागुन ८ गते निधन भएको थियो ।
वी.पी. कोइरालाको २०३९ सालमा निधन भएपछि उहाँले लिनुभएको प्रजातान्त्रिक समाजवादी विचारको ब्याख्याताका रुपमा सि.के. प्रसाईलाई लिइन्थ्यो । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिबारे गहिरो अध्ययन गरेर निरन्तरजसो विभिन्न पत्रपत्रिकाहरुमा विचार प्रवाह गरिरहने सि।के। प्रसाईका विचारहरुलाई समेटेर ‘सि.के. प्रसाईका विचारहरु’ र ‘सि.के.को सरल राजनीति’ नामक पुस्तक प्रकाशन भएको छ ।
राजनीतिक एवं सामाजिक रुपमा राम्रो प्रभाव राख्न सफल प्रसाई दम्पत्तिको घरलाई सबैले प्रजातान्त्रिक समाजवादको आस्थाको केन्द्रको रुपमा समेत लिने गरेका छन् ।
रकम हस्तान्तरणपछि धन्यवाद ज्ञापन गर्दै सि.के. चिन्तन प्रतिष्ठानका पूर्व अध्यक्ष एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले प्रसाई परिवारको राजनीतिक एवं सामाजिक योगदान शब्दमा वर्णन गर्न नसकिने उल्लेख गर्दै सि.के. प्रसाईं र गिरिराजकुमारी प्रसाईंले देखाउनुभएको नीति, सिद्धान्त र निष्ठापूर्ण राजनीतिको संरक्षणका लागि प्रसाईका सन्ततीलाई पनि राजनीतिमा आउन आग्रह गर्नुभयो ।
युनियनका सभापति इन्दु पूर्वेलीले सि.के. प्रसाई एवं गिरिराजकुमारी प्रसाईंले छोड्नुभएको सामाजिक सेवाभावलाई उहाँका सन्ततीले पनि निरन्तरता दिएकोप्रति कृतज्ञता ब्यक्त गर्दै दान–दातब्यले पारिवारिक समृद्धि बढेर जाने बताउनुभयो ।
अक्षयकोषको रकमको ब्याजबाट संस्थागत गतिविधि सञ्चालन, पत्रकारहरुको क्षमता अभिबृद्धि, स्वास्थ्योपचार एवं प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको इतिहास लेखन लगायत सर्वाङ्गीण लक्ष राखेर अक्षयकोषको स्थापना गरिएको अध्यक्ष पूर्वेलीले जानकारी दिनुभयो ।
‘अक्षयकोष सञ्चालन कार्यविधि’ पारित गरेर कोष स्थापना अभियान थालिएको जानकारी दिदै यस अभियानमा सबै लोकतन्त्रवादीहरुको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।
प्रेस युनियन अक्षयकोषमा सिके–गिरिराजकुमारी प्रसाई परिवारद्वारा ५० हजार सहयोग

































































































