रेजिना गौतम
चर्चाबारी । पुस १६ गते बेलुका खाना खाएर सुतेको थियो । रातको लगभग १२ तिर गाउँमा हात्ती पसेको हल्ला हुन थाल्यो । हुस्से लागेका कारण बाहिर निष्पट्ट अध्यारो थियो । हात्ती भगाउन आगो बाल्नका लागि छोराले परालको मुठो लिएर निस्किएपछि बुद्धशान्ति–३ का निलकण्ठ पौडेलको मनले मानेन । छोरोलाई केटाकेटी नै सम्झिएर आफू अघि बढे हात्ती धपाउन । हुस्सेका कारण निष्पट्ट अध्यारोले केही देखिंदैनथ्यो । हात्ती खेदाउने र भाग्ने क्रममा उनी भुँईमा लडे । भुँईमा लडेका निलकण्ठलाई हात्तीले सुँडले तान्यो । हात्तीको आक्रमणबाट करङ भाँचिएर धरानको घोपामा उपचार पनि घरैमा बसिरहेका उनले घटनाबारे भने–‘तानेर लग्यो, सटपेन्ट पनि खोल्यो, फेरी आफैं लगाईदियो । सुँडले जिउ मालिस गरेजस्तो, घरी थिचे जस्तो गर्यो । त्यसैक्रममा घोप्टो पारेर बेस्सरी थिच्यो, कसो गर्दा ऐया भन्न आएछ शायद त्यै सुन्यो कि के भयो छोडेर हिड्यो ।’ सोही आक्रमणबाट करङ भाँच्चिएर उनी अहिले घरैमा आराम गरिरहेका छन् । त्यसपछि घरगाउले भएर उद्दार गरेको उनले बताए । हात्तीले मान्छे मार्यो भन्दै उद्दारका लागि गएका गाउँलेसंग मेरो करङ भाँचियो हस्पिटल लैजान भनेपछि राति नै गाडी खोजेर उपचारका लागि लगेको उनले बताए । ‘बाँचिन्छ भन्ने लागेको थिएन ।’ उनले थपे–‘बाँच्न त बाँचियो निको हुन ६ महिना लाग्छ रे ।’
बाँच्न कठिन भो । बाली र बालबच्चा आफ्ना भन्न पाएका छैनौं, कलेज जाने छोराछारी फर्केर आउलान कि नआउलान् भन्ने चिन्ता हुन्छ बुद्धशान्ति–३ कि मायाँ उप्रेतीले हात्तीले गाउँमा फैलाएका आतंकबारे बताउँदै भनिन्–‘रातमा कुनै दिन ढुक्कले सुत्न पाइदैन ।’
राति सुत्न सक्ने वातावरण बनाउन नियामक निकायसंग आग्रह गरेकी मायाले भनिन्–‘गस्ती खटाउनु पर्यो, गाउलेलाई पनि साइरन, लाइट जस्ता सामग्री दिनु पर्यो।’ साँझ परेपछि नजिकैको जंगलबाट गाउँ पस्ने हात्तीको आतंकबाट बुद्धशान्ति–३ का स्थानीयले खेप्नु परेको पीडाको यी प्रतिकात्मक घटना हुन् ।

माघ २ गते सोही वडाका पवनकुमार दंगालको पक्की घरको वाल भत्काएर प्वाल पार्यो र धानको बोरा बोकेर खेतमा लगेर खायो । पक्कीघरको मुलगेट नजिकै हात्तीले सुँड दलेको दृष्य देखाउँदै उनले भने–‘त्यसपछि झ्यालको शिशामा सुँडले छोएछ त्यसपछि अर्कोपट्टी गएर वाल फोरेर धानको बोरा बोकेर लग्यो । मार्छ कि भनेर माथि छतमा गएर हेर्नुपर्यो ।’पुस १६ गते यता सो क्षेत्रका ७/८ घरमा क्षति पुर्याएको छ भने धेरैको बाली नष्ट गरेको स्थानीयको गुनासो छ । दशवर्षको नानी लिएर घरमा बस्दै आएकी गायत्री घिमिरे हात्तीकै डरले अहिले घरै छोडेर हिंडेको बताउँछिन् । घरको एकातर्फबाट हात्ती घुम्न थालेपछि अर्को कोठामा गएर बसेका उनीहरु अहिले नजिकै आफन्तको घरमा बस्दै आएका छन् । गायत्रीले भनिन्–‘राति नै सानिमाको घरबाट लिन आउनु भएछ यहाँ आएर बसेको फर्कन सकेकै छैन ।’ घरैमा लगाएको च्याउ खेति हात्तीले सबै नष्ट पारिदिएको छ ।
प्रकाश लुईंटेलले एकवर्षभरी भात खानका लागि ३० मन धान किनेर राखेका थिए । दैनिक मजदुरी गरेर जीविका चलाउने उनको कच्ची घर भत्काएर सकेसम्म धान खायो, उनीहरु सुतेको ओच्छ्यानको छेउमै सुँड पुर्याइसकेको हात्ती त्यहाँबाट पछि सरेर धान खान थाल्नाले ज्यान बचेको उनले बताए । ‘धानका कारण हामी बाँच्यौं, खाको खायो, नखाको बालुवासरी भुँईमा पोख्यो र हिंड्यो ।’
हात्तीको आतंकबाट आजित भएका स्थानीयले गाउँपालिकादेखि जिल्ला बन कार्यालयसम्मलाई पटक पटक गुहार मागे पनि आतंक नियन्त्रण हुन सकेको छैन । गाउँलेको पटक पटकको आग्रहपनि गाउँपालिका अध्यक्ष रमेश भुजेलको सल्लाहमा स्थानीय सिताराम बास्तोलाको अध्यक्षतामा मानव हात्ती द्वन्द्व न्यूनिकरण समिति निर्माण गरेर अहिले दैनिक गस्ती हुँदै आएको छ ।
तर, यो पर्याप्त छैन । अध्यक्ष बास्तोलाले भने–साँझ परेपछि कसलाई के हुने हो भन्ने टुङ्गो छैन, पहिले पहिले हाईहुँई गर्दा पनि हात्ती भागेर जान्थे पहिले हात्तीलाई हामीले खेदाउँथ्यौं अहिले हात्तीले हामीलाई खेदाउँछ ।’
केही वर्ष अघिसम्म भारतको आसामबाट हात्तीको बथान झापाको बाहुनडाँगी नाकाबाट नेपाल प्रवेश गथ्र्यो, यसरी प्रवेश गरेका हात्ती खेदाउँदा बथानमै फर्कन्थे । आसामबाट आउने हात्ती प्रवेश गर्ने बाहुनडाँगीको मुख्य नाका र त्यस आसपास सोलार फेन्सिङ गरेपछि हात्ती प्रवेशको सिधाबाट बन्द भयो । तथापी छिटफुट मेचीपुल दक्षिणबाट प्रवेश गरेका हात्ती फर्किने सिधाबाटो नहुँदा यहीका जंगलमा बस्ने बानी परिसकेको जानकारहरु बताउँछन् । यहीका जंगलमा बस्दा बस्दै रैथाने बनिसकेका हात्ती अटेरी हुनुका साथै धेरै उपद्रया पनि भएको स्थानीयको बुझाई छ ।
मानव हात्ती द्वन्द्व न्यूनिकरण समिति बुद्धशान्तिका अध्यक्ष बास्तोला भन्छन्–‘यो ठाउँमा हात्ती नियन्त्रणका लागि जंगल क्षेत्रमा सोलार फेन्सिङ वा बेलुका भएपनि समय मिलाएर करेन्ट छोड्नु पर्छ ।’ लामो समयसम्म हारगुहार गर्दा पनि स्थानीय तह तथा जिल्ला वन कार्यालयबाट हात्ती नियन्त्रणका लागि ठोस पहल नभए स्थानीयले गलतबाट रोज्न सक्ने संकेत समेत दिएका छन् ।
आजित स्थानीय भन्छन् ‘अहिलेसम्म हामीले संयमता अपनाएका छौं । तर, जब आजित हुन्छ, त्यो बेला कसैले पनि बेद पढ्दैन ।’ तसर्थ हात्ती आतंक नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान जाओस् । सुरक्षित बाँच्न पाइयोस् ।

































































































