बिर्तामोड २२ पुस । बिर्तामोडस्थित मनकामना कलेजमा साताब्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको खेल मैदानमा बुधबारदेखि अन्तर कक्षागत भलिबल प्रतियोगिता सञ्चालन भएको हो । विभिन्न तहका १० वटा टिमबीच सञ्चालित भलिबल प्रतियोगिताको क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले उद्घाटन गर्नुभयो ।
बिए, बिबिएस, बिएसडब्ल्यु, बिएड, कक्षा ११, कक्षा १२, कम्प्युटर साइन्स, बिजनेस स्टडिज लगायतका भिन्न कक्षाहरुबाट टिम तयारी गरी आन्तरिक प्रतिष्पर्धा भइरहेको हो । अनुशासन, गतिशलिता र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य हुने भएकाले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास गर्ने कलेजभित्र यस्तो प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको उद्घाटन मन्तब्यका क्रममा क्याम्पस प्रमुख भट्टराईले बताउनु भयो ।
शिक्षा भनेको किताबभित्रको कुरा जानेर ब्याख्या गर्नेमात्र नभई ब्यवहारिक जीवनका अनेकन पाटाहरु बुझ्नु, अनुभव गर्नु पनि हो भन्दै क्याम्पस प्रमुख भट्टराईले मनकामना कलेज भनेको शिक्षासँगै एक्सट्रा करिकुलर एक्टिभिटी (इसिए)मा अग्रसर पुरानो शैक्षिक प्रतिष्ठान भएको अवगत गराउनु भयो । कलेजका शैक्षणिक संयोजक तथा भलिबल प्रतियोगिताका संयोजक कुमार थपलियाले बाह्य प्रतियोगितामा सहभागिता जनाउन सक्षम विद्यार्थी उत्पादन गर्न हरेक वर्ष यस्तो प्रतियोगिता गरिँदै आएको जानकारी दिनुभयो ।
खेल सप्ताह अन्तरगत फुटसल र क्रिकेटका खेलहरु पनि यसैसाता सञ्चालन गरिने जनाइएको छ । दुवै प्रतियोगिताका लागि टीमहरु तयारी अवस्थामा रहेको कलेजका शैक्षणिक संयोजक थपलियाले बताउनु भयो ।
फुटसलका खेल संयोजक रजत ओझाका अनुसार बिर्तामोडको एब्सोल्युट फुटसलमा कलेजका ६ वटा टिमहरुबीच प्रतियोगिता गर्ने तयारी भएको छ । बिएसडब्ल्यु, बिए दोस्रो र तेस्रो, बिबिएस ए र बी, बिएड र बिए पहिलो वर्षका गरी ६ वटा टिम फुटसल खेल्न तयार रहेका संयोजक ओझाको भनाई छ ।
मनकामना कलेजले पूर्वमा नै पहिलोपटक २०६७ सालमा पत्रकारिता तथा आमसञ्चार विषयको स्नातक तह (बिए) सञ्चालन गरेको हो । पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष विभिन्न स्थानको अवलोकन भ्रमण गर्न पाउने, विभिन्न सञ्चार माध्यममा रहेर काम गर्न पाउने भएकाले प्रत्येक वर्ष विद्यार्थी संख्या बढिरहेको सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं बताउँछन् । कलेजले आन्तरिक खेल प्रतियोगिताहरु गराएर, पत्रकारिताका विद्यार्थीलाई हरेक वर्ष शैक्षिक भ्रमण गराएर विद्यार्थीमा थप उत्साह भर्ने गरेकाले पनि मनकामना कलेजलाई पूर्वी भूगोलका धेरै अभिभावकले रुचाएको उनको भनाई छ ।
मनकामनाले बिएडमा स्वास्थ्य तथा शारीरिक शिक्षा, बिएसडब्ल्युमा सामाजिक कार्यलगायतका ब्यवहारिक शिक्षा दिँदै आएको सहायक क्याम्पस प्रमुख प्रसाईं बताउँछन् ।
मनकामना कलेजमा खेलकुद सप्ताह सुरु

































































































