विर्तामोड ९ पुस । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागी वक्ताहरुले पत्रकार आचारसंहिताको पूर्ण पालना र युट्युवलाई कानूनी दायरामा ल्याउन सकेमात्रै पत्रकारितामा शुद्धिकरण आउने बताएका छन् ।
नेपाल पत्रकार महासंघ झापाको ३३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
पारिवारिक तथा व्यक्तिगत गोपनीयतालाई समेत महत्व नदिई युट्युवर तथा एकाध पत्रकारले प्रशारण गरेका कतिपय सामग्री पत्रकारिताको मूल्य मान्यता र आचारसंहिता विपरित रहेको उल्लेख गर्दै वक्ताहरुले युट्युवरले समेत आफूलाई पत्रकार बताउँदा समाजमा पत्रकार र पत्रकारिताप्रति नकारात्मक धारणा बढ्दै गएको बताएका थिए ।
पत्रकार महासंघ तथा पत्रकार आवद्ध विभिन्न संघ संगठनको पहलमा सरकारको ध्यानकर्षण गराएर युट्युव प्रशारण सम्बन्धी कानून तत्काल ल्याउनु पर्नेमा वक्ताहरुको जोड थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्रीले झापाको पत्रकारिताको इतिहास बताउँदै देशभर झापामा जति सभ्य, शिष्ट र इमान्दार पत्रकार अन्त छैनन् भन्ने हिजोको इतिहास कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
अर्का पूर्व अध्यक्ष केशव आचार्यले प्रविधिको दुरुपयोग र आत्मअनुशासन कायम राख्न सके पेशागत मर्यादा रहने धारणा राख्दै पुरस्कारको अक्षयकोष बृद्धिमा जोड दिनुभयो ।

अर्का पूर्व अध्यक्ष चिन्तामणी दाहालले पत्रकारिता गर्न सबै विधामा दक्ष हुनुपर्नेमा जोड दिंदै अत्यधिक अध्ययन, शैली परिवर्तन र सत्य तथ्य सूचना प्रवाहमा ध्यान दिनुपर्ने बताउनु भयो ।
त्यस्तै पूर्व अध्यक्ष कृष्ण हुमागाँईले ठूला सञ्चारमाध्यमहरु कर्पोरेट हाउसको विज्ञापनमा विक्ने गरेको बताउँदै साना लगानीको स्वरोजगारमुलक सञ्चारमाध्यमले विपन्न वर्गको आधारभूत आवश्यकताका विषयमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
अर्का पूर्व अध्यक्ष मोहन काजीले महासंघलाई राजनीति गर्ने थलो नबनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा उठेका हल्का टिप्पणी र बहसले पत्रकारितालाई बद्नाम पारेको धारणा राख्नु भयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य लीला बरालले प्रविधिको प्रयोगले पत्रकारको क्षमतामा ह्रास ल्याएको टिप्पणी गर्दै पेशागत स्वाभिमान कायम राख्न प्राकृतिक क्षमता र खोजमुलक पत्रकारितालाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा समाजवादी प्रेस संगठनका प्रदेश ईन्चार्ज तीर्थ सिग्देल, नेपाल प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतम, फोनिजका प्रदेश इन्चार्ज दिपीन राई, नेपाल पत्रकार महासंघ प्रदेश–१ का सदस्य लीलाराज झापाली, स्वतन्त्र पत्रकारसंघका अध्यक्ष नरेन्द्र ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य रेजिना गौतम, कान्तिपुर दैनिकका झापा संवाददाता अर्जुन राजवंशी लगायतले आ–आफ्ना धारणा राख्दै पत्रकारको आचरण शुद्धिकरण, क्षमता अभिबृद्धि र पेशाकर्मीबीच सुमधुर सम्बन्ध स्थापना जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, नारी संचार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, प्रेस संगठन झापाका सचिव उद्धव पुरी, फोटो पत्रकार संघ झापा अध्यक्ष विनोद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
उपाध्यक्ष शुशिला संग्रौला र स्वस्तिका आचार्यले सुझाव टिपोट गरेको कार्यक्रममा संस्थापक सदस्यद्वय केशव आचार्य र गोविन्द अधिकारीलाई सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराईले गर्नुभएको थियो भने सञ्चालन सचिव डिकेश लामाले गर्नुभएको थियो ।

































































































