रेजिना गौतम
इलाम, रम्भ्याङ । गोरेटो र घोरेटो बाटो बनेको २८ वर्ष पछि गत गाउँमा डोजरले बाटो खन्न थाल्यो । इलामको रोङ –६ रम्भ्याङमा गतवर्ष डोजरले बाटो खनेपछि स्थानीयबासीमा समृद्धिको आशा पलायो । गत वर्ष पुगेको डोजरले खनेको बाटोमा साना तथा पिकअप भ्यानहरु गुड्न थाले । त्यसले रम्भ्याङ गाउँमा खुशीको आशा छरेको स्थानीय प्रेमबहादुर राई बताउँछन् ।
यातायातको सुविधा उपलब्ध भए धेरै कुराको विकास हुने अपेक्षा थियो रोङबासीको । रोङ गाउँपालिका वडा नं.–६ रम्भ्याङका प्रेमबहादुर राइले भने–‘भारी बोक्नु परेको छैन, यहाँका उत्पादनलाई बजारसम्म पु¥याउन सहज हुँदा आम्दानी बढ्ने अपेक्षा छ । डोजर लाएपछि बाटो राम्रो बनिने विश्वास छ । स्थानीयको दैनिकी समेत सहज हुन्छ ।’

पर्यटकलाई लक्षित गर्दै रोङ गाउँपालिका–३ कोल्बुङस्थित हाँसपोखरीदेखि २९ किलोमिटरको पदमार्ग निर्माणमा जुटेको रोङ गाउँपालिकाले पदमार्गको तल्लो भागबाट रम्भ्याङलाई कच्ची मोटरबाटोसंग जोडेको छ । यो स्थान झापाको भूमिबाट १७ किलोमिटर दुरीमा पर्छ । पहाडी क्षेत्रको पदमार्ग निर्माणको लक्ष्य अनुसार रम्भ्याङस्थित झण्डीडाँडामा पर्यटन आगमन र बासस्थानका लागि होमस्टे निर्माणको प्रक्रिया पनि थालिएको छ । ६ वटा होमस्टे (घरबास) निर्माण गर्न लागिएको झण्डीडाँडा मुख्य विन्दु (पोइन्ट) हो ।
लाप्चा जातिको बाहुल्यता रहेको उक्त पदमार्ग (करसोङ अर्थात सुनाखरी) को नाम पनि लाप्चा भाषाबाटै नामाकरण गरिएको बताइएको छ । लाप्चा भाषामा करसोङको अर्थ सुनाखरी भन्ने बुझिन्छ । हाँसपोखरीदेखि लामाटारसम्मको २९ किलोमिटरको करसोङ पदमार्गमा अधिकतम सुनाखरी पाइनुका साथै लोपोन्मुख लाप्चा जातिको सम्मान र अपनत्वका लागि पनि करसोङ नामाकरण गरिएको रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नं.–६ का वडाध्यक्ष मनीकुमार स्याङ्वोले जानकारी दिए । रोङ गाउँपालिकाको समृद्धिको सूचकका रुपमा हेरिएको करसोङ पदमार्ग र घरबासको ब्यवस्थापन थालिएको रोङ गाउँपालिका–६ का वडा सदस्य केशरबहादुर प्रधानले बताए ।

तराईको भूभागबाट सबैभन्दा नजिकको पदमार्गका रुपमा रहेको करसोङ पदमार्ग भारत तथा बंगलादेशबाट आउने पदयात्रीका लागि सबैभन्दा नजिक र उपयुक्त भएको पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकृत निरोज कट्टेलले बताए । करसोङ पदमार्गलाई लाप्चा जातिको भाषा संस्कृति, भेषभूषासंग जोडेर विकास गर्नुपर्नेमा जोड दिंदै सूचना अधिकृत कट्टेलले करसोङ पदमार्ग साइक्लिङका लागि उपयुक्त मार्ग बन्न सक्ने बताए ।
मेची राजमार्ग अन्तरगत रोङ–३ कोल्बुङस्थित हाँसपोखरी क्षेत्रबाट शुरु भएको पदयात्रा ‘गुगल पोइन्ट’ (भूमापन केन्द्र), गिद्धेडाँडा गुर्धुमडाँडा, चिण्डे हुँदै झण्डीडाँडा । २९किलो मिटरको पदमार्ग निर्माणमा जुटेको गाउँपालिका र स्थानीयको सहयोगमा पहिलो चरणमा १६ किलोमिटर पदमार्गको ट्रयाक खोल्न सफल भएका छन् ।
२०७७ साल कात्तिक २२ गतेबाट शुरु गरिएको पदमार्गमा हालसम्म जनप्रतिनिधि र स्थानीयबासीको सहभागितामा ११४० जनाले श्रम गरेको बताइएको छ । पदयात्राका लागि कच्ची बाटो छ । पैदलै हिड्ने पदयात्रीका लागि ठाउँठाउमा घुमाउने चौतारी निर्माण गरिएको छ–विश्रामस्थलको रुपमा । बाटो किनाराका रुखहरु प्राकृतिक स्वरुप नविग्रिने गरी सिंगारिएका छन् । पदयात्रालाई सहज र खाँदै खेल्दै रमाइलो यात्रा होस् भन्ने हेतुले विभिन्न जातका फलफूलका विरुवा पनि रोप्ने योजना रहेको रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङबो(सुवास)–ले बताए ।
मनोरम प्राकृतिक वातावरणसँग रम्दै झण्डीडाँडा पुगेपछि सूर्योदय र सूर्यास्तको मनोरम दृश्यहरु हेर्न सकिन्छ । त्यहाँ पुग्दा लाग्छ–समग्र रोङ गाउँपालिकाको समृद्धि बोकेर अग्लिएको छ–झण्डीडाँडा । त्यहाँबाट नेपालका हिमाल, पहाड र तराईका बिभिन्न भू–भागहरुको अतिरिक्त भारत, भूटान र बंगलादेशसम्मको दृश्यावलोकन गर्न सकिने स्थानीय बताउँछन् ।

हाँसपोखरी, गुगलडाँडा, गुर्धुमडाँडा, झण्डीडाँडा, हल्लने ढुङ्गा, रमिते, गिद्वेभिर, चिण्डेपानी लगायत १५ ठाउँलाई मुख्य विन्दु (इन्डिकेटर) बनाइएको– पदमार्गले । २९ किलोमिटरको यो पदमार्गभित्र अन्तरगत हाँसपोखरी, मझुवा, लामागाउँ, रम्भ्याङ, सलकपुर र पाटापुरमा होमस्टे निर्माणको योजना अनुसार साझेदार संस्थासंग हातेमालो अघि बढेको प्रवक्त स्याङ्वोले बताए ।
जस्केलो होमस्टेका नामबाट होमस्टे निर्माण र व्यवस्थापनका लागि ३ वर्षसम्म कारितास नेपालसंग सहकार्यका लागि सम्झौता भएको बताइएको छ ।

गुराँसे डाँडाका रुपमा विकास गर्न लागिएको झण्डीडाँडाबाट खर्साङ, सोरेनबस्ती, मिरिक, कन्याम, सिलीगुढीका र झापाको काँकारभिट्टाको समेत दृष्यावलोकन गर्न सकिने स्थानीय युवा विनोद राईले बताए ।
पदमार्ग निर्माणमा कोरोना संक्रमणपछिको लकडाउनले पनि सहयोग पुग्यो । रोङ गाउँपालिकाको वडा नं.–हाँसपोखरीबाट शुरु हुने पदमार्ग निर्माणमा खटिएका रोङ–३ का मजदुर प्रेम राईले भने–‘बाहिर काम पाउनै छोड्यो, केही ज्याला पनि पाइने, आफ्नो ठाउँको विकास पनि हुने देखेर न्यूनतम ज्यालामा हामी आफैं खटियौं ।’ उनले थपे–‘त्यसले व्यवहार पनि टर्यो, आफ्नै ठाउँको विकास पनि भयो ।’
झण्डीडाडालाई गुराँसे डाँडाका रुपमा विकास गर्ने योजना अनुसार विभिन्न प्रजातिका गुराससहित अन्य विभिन्न विरुवाहरु रोपेको छ ।

पर्यावरणीय सुद्धता कायम राख्दै प्राकृतिक सुन्दरताले भरिपूर्ण बनाउन सुनाखरी लगायतका केही विरुवा गत आर्थिक वर्षमा नेपाली सेनाले रोपेको अध्यक्ष स्याङ्वोले बताए ।
गत आर्थिक वर्षमा रोङ गाउँपालिका, संघीय सरकार र प्रधानमन्त्री रोजगार कार्यत्रममार्फत समान १५÷१५ लाखको बजेटमा काम गरेको बताइएको छ ।
गाउँपालिकाका प्रवक्ता स्याङ्बोका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकार, स्थानीय तह र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ करोड २० लाख लगानीमा पदमार्गलाई व्यवस्थित बनाइने योजना रहेको बताइएको छ । पदमार्गमा फलफूल रोपेपछि गाउँ पसेर दुःख दिने जंगली जनावर नियन्त्रणमा सहज हुनुका साथै पदयात्रीले पनि नयाँ फलफूलको स्वाद लिंदै यात्रामा रमाउन पाउँदा अर्कै रमाइलो हुन्छ ।’
कोरोना संक्रमणका बेला ढुक्कै पदमार्ग निर्माणमा जुटेको बताउँदै वडाध्यक्ष स्याङ्वोले भने–‘लकडाउनको समयजति यतै बिताइयो ।’

प्रचण्ड गर्मीको समयमा पनि तराईको भेगबाट पहाडको चिसो स्पर्शका लागि आधा घण्टामै पुग्न सकिने रोङ गाउँपालिकाले हाँसपोखरी सलकपुर पदयात्रामा जुन संभावनाको सपना देखेर पूर्वाधार निर्माणमा जुटेको छ–यो एकदमै रह्रानीय छ ।
स्थानीय जनप्रतिनिधिले गाउँका विकासका लागि सपना देखेर कार्यान्वयन गर्ने हो भने असंभव छैन भन्ने हाँसपोखरी सलकपुर पदयात्राको पदमार्गलाई लिन सकिन्छ ।

































































































