विर्तामोड २८ मंसिर । भनिन्छ वेदमा भएको विज्ञान र गीताको ज्ञान संसारका अरु कुनै ग्रन्थमा भेटिदैन । तर वेदको ज्ञानलाई विज्ञानमा परिणत गर्न नसक्दा पूर्वीय वैदिक सभ्यताको जननी मानिने नेपाल भूमि पछि परिरहेको छ । वैदिक धर्मग्रन्थमध्ये सर्वश्रेष्ठ ग्रन्थका रुपमा स्थापित बेद कर्मकाण्डीय पद्धतिमा मात्रै सिमित छ । ज्ञानका तत्वहरुलाई एकीकृत गरिएको श्रीमद्भगवद्गीता पनि कर्मकाण्डीय पद्धतिमै सिमित छ ।
ज्ञानयोग, कर्मयोग, भक्तियोग र उपासनाको सारतत्व बोकेको श्रीमद्भागवत गीता पूर्वीय वैदिक दर्शनमा सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ । यसको अध्ययन, अनुभव र अनुकरणले मात्र पनि मानिसको दैनिक जीवन सुखमय हुने वैदिक धर्मगुरुहरुले बताउँदै आएका छन् ।
मोक्षशास्त्रका रुपमा परिचित श्रीमद्भगवद्गीता आजभन्दा ५ हजार बर्ष पुरानो ग्रन्थ मानिन्छ । महाभारतको भीष्म पर्वबाट लिइएका ज्ञानतत्वका सारवस्तुको ब्याख्या गरिएको गीतामा १८ अध्याय र सातसय पद्यात्मक संस्कृत श्लोकहरु रहेको कालिकापीठ कालीस्थानका प्राचार्य आचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।
अनुष्टुप छन्दको अधिक प्रयोग रहेको यस ग्रन्थमा कुरुक्षेत्रको युद्धमा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश उल्लेख छ भने सञ्जय र धृतराष्ट्रको अधिक संवाद छ ।
हाम्रो समाज आधुनिककतातिर ढल्कदै जाँदा पश्चिमा जीवनशैलीको अनुकरण बढी र पूर्वीय वैदिक सभ्यता र ग्रन्थहरुले निर्धारण गरेका अनुशासनहरुको पालना क्रमशः घट्दै गएको छ । श्रीमद्भागवद्गीतासँगै पूर्वीय धर्मग्रन्थहरुको अध्ययन कर्मकाण्डीय पद्धतिमा सिमित बन्दै गएका छन् । वेद, गीता, श्रीमद्भागवत्महापुराणहरुको अध्ययन, त्यहाँभित्रको कर्म, ज्ञान, भक्ति र उपासनाको अनुकरण क्रमशः घट्दै गएको छ ।
यसै सन्दर्भमा नयाँ पुस्तालाई पनि गीताको ज्ञान दिइनुपर्छ भन्ने मान्यताका साथ काँशीमणि पितृ स्मृति समूहद्वारा श्रीमद् भगवद भक्ति आश्रम अर्जुनधारा–९ ले प्रत्येक बर्ष मंसिर शुक्ल एकादशीका दिन गीताजयन्तीको अवसर पारेर श्रीमद्भागवद्गीताको चर्चा एवं प्रतियोगितात्मक गीता वाचन कार्यक्रम गर्दै आएको छ ।
यसबर्ष पनि विभिन्न गुरुकुलहरुमा अध्ययनरत विद्यार्थीहरुका बीच गीतावाचन एवं प्रश्नोत्तर विधिमार्फत प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा प्रस्तुत हुँदा विद्यार्थीहरुको उपस्थिति र औपचारिक सम्बोधन, गीतावाचनमा गति, यति र छन्द, उच्चारण र सुद्धासुद्धी एवं प्रश्नोत्तरमा बर्गीकरण गरी गराइएको प्रतियोगितामा माधव संस्कृत विद्यालयका ईश्वर भट्टराई प्रथम, कालिका संस्कृत विद्यापीठ (कालिकापीठ) कालीस्थानका विशाल अधिकारी द्वितीय, सप्तऋषि आश्रम अर्जुनधाराका विद्यार्थी सौगात बराल तृतीय र भगवत्भक्ति आश्रम देवर्सी संस्कृत विद्यालयका रमेश पोखरेल शान्त्वना भएका छन् । प्रतियोगितामा हरिनारायण भट्टराई र युवराज रिमालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले प्रमाणपत्र एवं पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा साहित्यकार कोमलप्रसाद पोखरेलले आफैंद्वारा नेपालीमा अनुवादित श्रीमद्भगवद्गीता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि फलाहारी, साहित्यकार कृष्ण धराबासी, पुण्यप्रसाद खरेल, मातृका संग्रौला, दुष्यन्त भट्टराई, मिना अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । तुलसीराम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत एवं कार्यक्रमको औचित्यमाथि जानकारी विष्णुकुमार भट्टराइले गर्नुभएको थियो । सामाजिक ब्यक्तित्व गोपीकृष्ण प्रसाई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, शिवराज भट्टराई, ब्रम्हकुमारी राजयोग विर्तामोडका प्रतिनिधि लगायत साहित्यिक एवं समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
गीता जयन्तीमा प्रतियोगितात्मक गीतावाचन

































































































