विर्तामोड २६ कात्तिक । झापाका कांग्रेस कार्यकर्ताले पार्टीको १४ औं महाधिवेशनको सन्दर्भलाई लिएर कार्यकर्तामा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।
जिल्ला सभापतिमा रामबहादुर कट्टेललाई जिताऔं अभियान सचिवालयको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कार्यकर्ताले अग्रज नेताहरुलाई यस्तो आग्रह गरेका हुन् ।
लोकतन्त्रमा प्रतिष्पर्धा स्वभाविक हुने भन्दै १३ औं महाधिवेशनमा नै १४ महाधिवेशनमा पार्टीको जिल्ला सभापति कसलाई बनाउने भन्ने विषयमा सम्झौता भईसकेको भन्दै जिल्लाका शिर्ष नेताहरुले भन्दै हिडेर कार्यकर्तामा भ्रम श्रृजना गरी गलत सन्देश दिन खोजेको उल्लेख गर्दै नेताहरुलाई सबैको अभिभावक भएर बस्न सुझाएका छन् ।
सम्झौता अनुसार पार्टीमा नेता थेवेलाई सम्मानजनक भूमिका दिनुका साथै प्रतिनिधिसभाको उम्मेद्वार समेत बनाएर उहाँको त्यागको उच्च सम्मान गरिएको बताउँदै उपस्थित कांग्रेस कार्यकर्ताले सभापति बन्ने पालो वर्तमानका उपसभापति रामबहादुर कट्टेलको भएको दावी समेत गरेका छन् ।

महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा स्वाभाविक भएको बताउँदै वक्ताहरुले अधिवेशन सकिएसंगै हारजित जे भएपनि सबै नेता कार्यकर्ता एकै ठाउँमा हुने धारणा राख्दै शिर्ष नेताले दिएको गलत अभिव्यक्तिकै कारण कार्यकर्तामा रुष्ट हुनुका साथै विभाजित भएको बताए ।
सो अवसरमा बोल्दै पार्टीका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले १३ आंै महाधिवेशनपूर्व तत्कालिन सभापति पदका दावेदार देउमान थेवेसंगको सम्झौता अनुसार नै आफू सचिव भएको जानकारी दिंदै सम्झौताको पहिलो बुँदा अनुसार नै थेवेलाई पार्टीको महत्वपूर्ण ठाउँ भातृ संगठन समन्वय विभागको प्रमुख बनाउनुका साथै प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार समेत बनाएको बताए । उनले भने–‘सहमतिको पहिलो बुँदामा थेवेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मूल्याङ्कन गर्दै वहाँको राजनैतिक भूमिकालाई सम्वद्र्धन गर्ने भन्ने उल्लेख छ, सोही अनुसार नै भातृ संघ संस्था समन्वय विभागको प्रमुख बनायौं, प्रतिनिधिसभाको उम्मेद्वार बनायौं सचिव सम्बाहाम्फेले थपे–‘भलै हार्नु जित्नु आफ्नो ठाउँमा छ, राजनैतिक भूमिकाको सम्वद्र्धन भनेको के हो ? सम्झौता अनुसार यही कार्यकालमा प्रशस्त भूमिका दिएर सम्मान गरिसकेका छौं ।’
उपसभापति स्वाभाविक रुपमा सभापतिको दावेदार रहने बताउँदै पार्टीलाई नयाँ विचार दिएर नयाँ आयाम ल्याउनु पर्छ भन्ने ध्येयले कट्टेललाई सभापति बनाउनु पर्नेमा आफ्नो साथ र समर्थन रहेकोमा जोड दिंदै सचिव सम्बाहाम्फेले भने–‘कट्टेललाई जिताउँदा पार्टीलाई नयाँ उर्जा दिन सकिन्छ ।’
अर्का सचिव ताराबीर कट्वालले सम्झौता अनुसार नेताहरुले बोलेको कुरा लगत भएको बताउनु भएको छ । कट्वालले भन्नुभयो दस्तावेजका आधारमा उहाँहरुले बोलेको कुरा गलत छ ।’
त्यसैगरी पार्टीका महासमिति सदस्य उषा गुरुङले सम्झौतामा उल्लेख भए अनुसारको सम्मान भइसकेको बताउँदै भनिन–‘सभापति बनाउने सहमति गरेको भए दस्तावेजले चाहियो ।’
त्यसैगरी पत्रकारले राखेको जिज्ञासामा क्षेत्रीय सभापति मणी उप्रेतीले झापाका १५ वटै स्थानीय तह एउटै प्यानलका भनेर हल्ला गर्नु झुटा भएको बताउँदै भने–‘अतिरञ्जित भएको बताउँदै सम्झौताका विषयमा नेताहरुले जुन प्रचार गरेका छन् त्यो नितान्त झुटो हो ।’
त्यसैगरी युवा नेता देवेन्द्र गौतमले नेताहरुले एउटै पार्टीभित्र यो वा त्यो भनेर कित्ता छुट्याउनु नै गलत भएको टिप्पणी गर्दै भने–‘नेताहरुले जुन भाषा शब्द प्रयोग गर्नु भएको छ, त्यसले नकारात्मक सन्देश जान्छ, यसको परिणामले पार्टीलाई हित गर्दैन, जो जहाँ भएपनि स्वस्थ्य प्रतिष्पर्धा स्वभाविक हो, हामी सबै कांग्रेस कार्यकर्ता हौं ।’
रामबहादुर कट्टेल जिताऔं अभियान सचिवालयका संयोजक तथा जिल्ला सदस्य पुष्पराज पौडेलले राजनीतिक रुपान्तरणका लागि विचारशील कार्यकर्ताको जगमा विचारशील व्यक्तिलाई सभापति बनाउनु पर्छ भन्ने बुझाईका आधारमा कट्टेललाई सभापतिको उम्मेद्वारमा अघि सारिएको बताए ।
त्यस्तै पार्टी प्रवक्ता लोकराज ढकाल र जिल्ला सदस्य तेजप्रसाद चम्लागाँईले पार्टीभित्र स्वच्छ छवि भएको शालिन र बौद्धिक व्यक्तित्वका रुपमा चित्रित गर्दै कट्टेललाई सभापति बनाउनु पर्नेमा जोड दिए ।
झापामा पार्टीभित्र अग्रज नेताका रुपमा चिनिएका सुधिरकुमार शिवाकोटी र केशवकुमार बुढाथोकीले १३ औं महाधिवेशनमा जिल्ला सभापति सर्वसम्मत बनाउने क्रममा १४ औं महाधिवेशनमा देउमान थेवेलाई जिल्ला सभापति बनाउने सम्झौता भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् ।
सो सम्बन्धमा अरुलाई लोकतन्त्र सिकाउने कांग्रेसले राजाको पालामा जस्तो यो पछि अर्को भन्ने पूर्व निर्णय नसुहाउने र मान्य पनि नहुने भन्दै सम्झौतामा हस्ताक्षर गरेको भन्नु गलत तथा कमजोर मनस्थितिबाट ग्रसित भएर भ्रम छर्नुमात्र रहेको उपस्थित कार्यकर्ताको सामुहिक टिप्पणी थियो । पार्टीका जिल्ला सदस्य सचिवालय संयोजक पुष्प पौडेलको सभापतित्वमा पत्रकार सम्मेलन गरिएको थियो ।

































































































