झापा २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँएको छ । वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो । किराँत समाज सुधारमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मंसीर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोवास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किराँत समुदायको बसोवास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरेका छन् ।
समाज सुधारक फाल्गुनन्दको १३७ औं जन्मजयन्ती

































































































