रेवतीराज घिमिरे
भद्रपुर । झापाको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अन्तरगत सञ्चालित दोस्रो खानेपानी ट्यांकीबाट वितरित पानी दुषित भएको स्थानीय उपभोक्ताले गुनासो छन् ।
बिगत १ महिनायता हप्तामा ३/४ दिनसम्म निरन्तर माटो मिसिएको कालो लेदोसहितको पानी धाराबाट आउने गरेको उपभोक्ताले बताएका हुन ।
प्रथम ट्याँकीबाट वितरित पानीमा अहिलेसम्म कुनै समस्या नदेखिए पनि नव निर्मित ट्याँकीबाट वितरित पानी भने खान योग्य नभएको भद्रपुर १० स्थित शहीद चौक निवासी आम उपभोक्ताले बताएका छन् ।
खानेपानीमा यस्तो समस्या देखिएपछि उपभोक्ताहरु पानीको नमुना लिएर समितिमा गए पनि आफूहरुको गुनासो र सुधारका लागि गरिएको मागलाई समितिले कुनै चासो नदेखाएको स्थानीय उपभोक्ता ढाकालाल अधिकारीले बताउनु भयो ।
आफुले यस बिषयमा समिति अध्यक्षलाइ व्यक्तिगत रुपमै फोनबाट पटक–पटक समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाई नभएको उहाँको भनाई छ ।
नव निर्मित ट्यांकीको मेशिनमै खराबी भएका कारण समस्या आएको हुनसक्ने भन्दै समितिले तत्काल ट्यांकीलाई मर्मत गरी उपभोक्तालाई शुद्ध पानी वितरण गर्नुपर्ने अधिकारीले बताउनु भयो ।
मानिसको जिवनसंग जोडिएको दुषित खानेपानीका कारण आम उपभोक्तामा विभिन्न महामारीजन्य रोगहरु समेत निम्तन सक्ने बताउदै पानी वितरणमा तत्काल शुद्धता प्रदान गरिनु पर्ने अर्का उपभोक्ता राजन अधिकारीले बताउनु भयो । स्वास्थ्यसंग जोडिएको खानेपानीलाई बेवास्ता गर्न नहुने आम स्थानीय उपभोत्ताहरुको भनाई रहेको छ ।
यता समिति अध्यक्ष पुरुषोतम अधिकारीले भने प्राविधिकहरुको सहयोगमा समितिले छिटो भन्दा छिटो निर्णय गरी पानीको शुद्धतामा आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।
तीनहजार पाँचसय बढी उपभोक्ता रहेको समितिले चन्द्रगढी खानेपानीको पुरानो एक ट्यांकीबाट मात्र सबै उपभोक्ता समक्ष पानी पुर्याउन समस्या भए पछि विगत केहि समययता नवनिर्मित ट्यांकीबाट पानी वितरण गरिदै आएको छ ।
पिउने पानीमा माटो, शुद्धपानी वितरण गर्न उपभोक्ताको माग

































































































