बिर्तामोड । नारी सञ्चार गृह झापाको आयोजना तथा अन्तरिक राजश्व कार्यालय झापाको सहयोगमा व्यक्तिगत पान के हो ? विषयक एकदिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति झापाका उपप्रमुख मिना पराजुलीको प्रमुख आतिथ्य तथा नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड क्षेत्रका महिला उद्यमी तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पराजुलीले व्यक्तिगत पानको अभावमा मजदुर वर्गले असजिलो व्यहोरिरहेको बताउँदै व्यक्तिगत पानका फाइदाबारे सबैलाई जानकारी गराउनु जरुरी रहेको धारणा राख्नुभयो ।


कार्यक्रममा आन्तरिक राजश्व कार्यालय झापाका कर अधिकृत युवराज श्रेष्ठले पान कति किसिमका हुन्छन् ? कर र गैह्रकर राजश्व, राजश्वको औषत संरचना, नेपालको कर प्रकृया, आयकर, अन्तशुल्क, आर्थिक ऐन २०७७ ले ल्याएका सुविधाहरु, मुल्य अभिबृद्धि कर छुट तथा आयकर छुट, करदाताका लागि नयाँ सुविधा लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले व्यवसायिक हक–हित र अधिकार सुनिश्चितताका सदा प्रतिवद्ध रहेको बताउँदै आफूले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायिक प्यानललाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।
त्यस्तै अध्यक्षका अर्का उम्मेद्वार सुवास भट्टराइले व्यवसायीका व्यवसायिक समस्या समाधान र विकासका लागि आफू नेतृत्वको संयुक्त व्यवसायिक प्यानलमा मत हाल्न आह््वान गर्नुभयो ।

पूर्वकै ठूलो व्यापारिक केन्द्रका रुपमा स्थापित विर्तामोड उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि फागुन १६ गते निर्वाचन हुँदैछ । निर्वाचनमा कांग्रेस संवद्ध व्यवसायीको लोकतान्त्रिक व्यवसायिक प्यानल र नेकपा–राप्रपा संवद्ध व्यवसायीका तर्फबाट संयुक्त व्यवसायिक प्यानल चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।

नारी सञ्चार गृह झापाका सचिव भूमिका सुब्बाको सञ्चालन र उपाध्यक्ष रेजिना गौतमले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नंं प्रदेश समिति सदस्य तीर्थ सिग्देल, नेपाल प्रेस युनियन झापाका सभापति इन्दु पूर्वेली, संस्थापक अध्यक्ष सावित्रा दाहाल, निर्वतमान अध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति कृष्ण हुमागाँई, आदिवासी/जनजाति फोनिजका अध्यक्ष विशाल नेम्वाङ, बीरता लेडी जेसीजका अध्यक्ष स्वस्तिका आचार्य लगायतको उपस्थिति रहेको कार्यक्रममा नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता विमली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा विर्तामोड क्षेत्रका उद्यमी तथा व्यवसायी महिलाका साथै झापाका सञ्चारकर्मीहरुसहित ५० जना बढीको उपस्थिति रहेको थियो ।

































































































