विर्तामोड २२ माघ । विर्तामोडका सामाजिक व्यक्तित्व विर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका साथै विराट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष परशु सिटौलाको विहीबार कनकाई माइमा अन्त्येष्टि गरियो ।
बुधबार साँझ निधन भएका सिटौलालाई छोरा शैलेन्द्र र भाइ प्रकाशले दागवत्ती दिए । कुनै उच्च ओहदामा नपुगेका व्यक्तिको निधनपछि श्रद्धाञ्जली व्यक्ति गर्न घरमा र घाटमा पुगेकाहरु ‘सर्वसाधारण व्यक्तिको यत्तिको मलामी त देखेकै थिएन्’–मलामीजन आफैं त्यसो भनिरहेका थिए । धेरै नबोल्ने काममाथि विश्वास गर्ने सिटौला अमनारमनी पब्लिक क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष, निर्माणाधिन विराट भरत विश्रान्तीका कोषाध्यक्ष, सिटौला सेवा समाज नेपाल विर्तामोडका निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्थ्यो ।
सिटौलाको निधनले विर्तामोडबासीलाई नै अपुरणिय क्षति भएको विर्तामोड–४ निवासी रोमणी भट्टराईले बताउनु भयो । नेकपाका नेता तथा मनमोहन सामुदायिक हस्पिटलका सञ्चालक समेत रहनु भएका भट्टराई सिटौलालाई सबैसंग मिल्न सक्ने सचेत, विकासप्रेमी र समाजमा केही गरौं भन्ने निस्वार्थ भावनाको व्यक्तिका रुपमा लिनुहुन्छ । बैचारिक बाउन्ड्रि भन्दा माथि उठेर काम गर्न र सबैलाई समेटेर लान सक्ने क्षमता भएको व्यक्तिको निधनले विर्तामोडको विकासमा समेत असर पुग्ने बताउँदै भट्टराईले भन्नुभयो–‘राजनीतिक आस्था, विश्वास जे भएपनि मिलनसार, समाजसेवी, सचेत, सबैसंग सहकार्य गर्न सक्ने सिटौलाको निधनले समाजको अग्रगतिमा ठूलो चोट थपियो । सामाजिक कामदेखि संस्था सञ्चालनमा उहाँको भूमिका अब्बल थियो, यो अकल्पनिय, निधनले मर्माहत बनाएको छ, समाजका लागि यो अपुरणीय क्षति हो ।’
निधनपछि सिटौलाका घरमा विहीबार विहान भेटिएकी महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाले राम्रो मान्छे भगवानलाई नै चाहिँदो र छ कि क्या हो ! भन्दै दुःख व्यक्त गरिन् । विर्तामोड खानेपानी सरसफाई तथा उपभोक्ता संस्थामा एक कार्यकाल एउटै टिममा बसेर काम गरेकी सुब्बाले भन्नुभयो–‘संस्थाको काममा कति इमान्दार/इमान्दार, संस्थालाई कसरी अघि बढाउनुपर्छ ? भन्ने महत्वपूर्ण कुरा कति जानेको जानेको, अब त यस्तो मान्छे जन्मिदैन होला ।’
सिटौलाको निधनपछि उनको भूमिकालाई स्मरण गर्दै सामाजिक सञ्जालमा पोखिएका भावले पनि सिटौला साँच्चिकै सामाजिक व्यक्ति थिए भन्ने पुष्टि हुन्छ ।
आफ्नै निवास आसपासमा बाटो स्तरोन्नतिका लागि बुधबार विहान छरछिमेकीसंग छलफलमा बस्नु भएका सिटौला दिउँसो सहकारीको कामका शिलशिलामा गौरादहतिर अध्ययनका लागि जानुभएको थियो । साँझ ह्ृदयघात भएपछि उहाँलाई हतार–हतार विर्तामोडस्थित विएण्डसी हस्पिटल पुर्याएपनि उपचार संभव नभएको पारिवारिक स्रोतले जनाएको छ ।
नीजि निवासबाट विहीबार विहान स्व. सिटौलाको अर्थी बनाउँदै गर्दा उक्त टोलबासीहरु भन्दै थिए–‘हिजो विहान यतिबेला यही बाटोको बारेमा छलफल गरेर छुटेका थियौं, आज त्यतिनै बेला सदाका लागि विदा गर्नुपर्यो । मरण पनि कस्तो !’
‘पर्शुको निधनले विर्तामोडको विकासको अग्रगतिमा चोट थपियो’

































































































