Homeसमाचारसुत्केरी अवस्थामा श्रीमानले छोड्नुका साथै घर निकाला गरेपछि किशोरी अलपत्र
सुत्केरी अवस्थामा श्रीमानले छोड्नुका साथै घर निकाला गरेपछि किशोरी अलपत्र

झापा २३ असार ।
सुत्केरी अवस्थामा श्रीमानले छोडेर हिड्नुका साथै घर धनीले पनि कोठाबाट निकाला गरेपछि विर्तामोड–१ की एक किशोरी अलपत्र अवस्थामा परेकी छन् ।
डेढ वर्षको छोरा र डेढ महिनाकी छोरीकी आमा उषा चौधरी मुर्मुका श्रीमान साने मुर्मु छोरी र उषालाई छोडेर विगत १२ दिनयता वेपत्ता भएपछि आफू अलपत्र परेको उषाले बताइन ।
डेढ महिना अघि विराटनगरको नोवेल अस्पतालमा प्रसूती गराउने क्रममा पिसाव थैलीमा इन्फेक्सन भएपछि मुत्रनलीमा राखिएको पाइप खर्च अभावमा निकाल्न नसकी बसेकी १६ वर्षिया किशोरी उषालाई केही दिनदेखि खर्च जुटाएर आफूले उपचार गर्न नसक्ने भन्दै गाली गलौज गर्दै आएका थिए ।
श्रीमान् हउन्जेलसम्म भाडा नमागेका घरधनीले उषाका श्रीमान वेपत्ता हुने वित्तिकै घरबाट पनि निकाला गरेपछि हाल उनी अर्जुनधारा नगरपालिका वडा नं.–५ पाण्डवपुर स्थित दिदी–भिनाजुको घरमा आश्रय लिंदै आएकी छन् ।
ज्याला मजदुरी गरेर छाक टार्ने उनको श्रीमान वेपत्ता भएसंगै छाक टार्ने अवस्था समेत नभएपछि श्रीमानको खोजी गरिदिन उनीहरु इलाका प्रहरी कार्यालय विर्तामोडमा आइपुगेकी थिइन् ।
यसअघि पनि श्रीमान श्रीमतिबीचको झगडा मिलाइदिन गुहार माग्दै उनीहरु प्रहरी कार्यालयमा आइपुगेका थिए । श्रीमान श्रीमतिबीचको झगडा यसअघि प्रहरीले तीन पटकसम्म मिलाएर पठाएको बताइएको छ ।
श्रीमान्ले छोडेर हिंडेपछि घरवालाले पनि निकालेपछि अलपत्र परेकी मुर्मुको नारी कल्याण समाज झापाले उनलाई केही दिनका लागि खानको व्यवस्था गरिदिनुका साथै उपचारका लागि मेची अञ्चल अस्पताल पुर्याएको थियो ।
चिकित्सक अभावका कारण मेची अञ्चल अस्पतालमा उपचार संभव नभएपछि भद्रपुरकै ओमसाई अस्पतालमा सामान्य उपचार गरिएको समाजकी अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिनुभयो ।
अस्पतालले स्वास्थ्य परिक्षणपछि केही दिनका लागि निःशुल्क औषधी उपलब्ध गराएको बताइएको छ । उक्त औषधीले काम नगरे अप्रेसन गर्नुपर्ने चिकित्सकको सुझावले आफूलाई थप पीडामा पारेको भन्दै सहयोग गरिदिन उनले आग्रह समेत गरेकी छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण आफूले पनि बहिनीको उपचारमा थप सहयोग गर्न कठिन भएको उषाकी दिदी आशा चौधरी दर्जीले बताइन् ।
समाचारसुत्केरी अवस्थामा श्रीमानले छोड्नुका साथै घर निकाला गरेपछि किशोरी अलपत्र