काठमाडौँ ५ असार । सरकारले बेलुका १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै अत्यावश्यक काम बाहेक पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।
मापदण्ड कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गत जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गर्दै यसलाई व्यवस्थित गर्न सुरक्षा मापदण्ड जारी गर्न गृहलाई निर्देशन दिएको थियो ।
कोरोना संक्रमणका कारण रेडजोनमा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लामा निजी सवारी साधनमा जोरविजोर प्रणाली कायम गरेको छ । राति फिल्डमा खटिएका सुरक्षाकर्मीलाई छलेर अनुमतिबिना एक जिल्लाबाट अर्को जिल्लामा यात्रु ओसारपसार हुन थालेपछि सुरक्षा जाँचमा थप कडाई गर्न गृहले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको हो ।
जारी सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान उल्लेख गरिएको छ भने कार्यस्थल, सार्वजनिकस्थल तथा अन्य काममा बाहिर निस्कँदा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्न र नियम पालना गरे वा नगरेको अनुगमन गर्न पनि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।
सुरक्षा मापदण्ड जारी, १५ जना भन्दा बढी भेला हुन नपाइने, सामाजिक दुरी २ मिटर

































































































