फोटो फिचर

दोमुखा । महाभारतकालिन किंवदन्तीमा आधारित झापामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु छन् । त्यस्तै मध्येको एक हो दोमुखा । झापा र इलामको सिमाना चुरे क्षेत्रमा पर्ने दोमुखा तराईबासीका लागि निर्क आकर्षक गन्तव्य बिन्दु हो ।

सहज परिवेशमा यहाँ झापा, मोरङ, सुनसरी लगायत विभिन्न तराई तथा पहाडी जिल्ल तथा छिमेकी मुलुकहरुबाट समेत घुम्नका लागि आउने गरेका थिए । तर यो वर्ष कोरोनाको संक्रमण जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण पर्यटकीय क्षेत्रमा पर्यटकको आवागमन भएन ।

पास बनाएका सरकारी गाडी दोमुखा आसपासका होटलमा खाजा खान पुगेपनि आन्तरिक र बाह्रय पर्यटकहरु पुगेनन् । वर्षेनी झापा, मोरङ, सुनसरी, लगायत अन्य विभिन्न तराई तथा पहाडी जिल्ला र छिमेकी मुलुकबाट समेत बनभोज (पिकनिक) खान र घुम्नका लागि पर्यटक आउने गरेका थिए । तर यो वर्ष त्यस किमिसको आवागमन भएन ।

मानिसको आवागमन कम भएसंगै पर्यटकीय क्षेत्रमा हुने फोहोर मैलामा कमि आउँदा प्रकृतिपनि रमाएको हो कि जस्तो यहाँको प्राकृतिक सुन्दरताले दर्शाउँछ ।

पूर्वतर्फ माईनदीमा एकतमासले बगिरहेको दृष्य, आकाशतर्फ फर्किंदा झ्याम्म परेका सिरिसका बोटमा फुलेका फूलहरु, पश्चिमतर्फ कनकाई सिंचाइ आयोजनाको नहर र नहरको पारीपट्टी माथि मन्दिर तल व्यवसायिक रुपमा खोलिएका होटलहरु । चुरे पहाडको कुनाबाट निस्किएकी माईनदीको पानीमा जाल हान्दै माझीहरु । न गर्मीको न त जाडो ।

माइनदीको पूर्वतर्फको पहाड (पाखा)मा देखिने हरियाली दृष्य, दक्षिणतर्फ धनुषकोटी र दोमुखालाई जोड्ने झोलुङ्गे पुल ।

यस्तो अनुपम प्राकृतिक दृष्यले कसको मन नछोला र ! यतिबेला दोमुखाको दृष्यावलोकनले प्रकृतिसंग रमाउनेहरुलाई स्वर्गको अनुभूति हुनेछ भन्दा शायदै अन्यथा नहोला !

































































































