
बिर्तामोड २५ बैशाख । लामो समयदेखि विद्यालय बन्द भएका कारण विद्यार्थीको पढाई प्रभावित भएपछि केही निजी विद्यालयले प्रारम्भ गरेको अनलाईन शिक्षा औपचारिक हुन नसक्ने बताउँदै सरोकारवालाहरुले अभिभावकबाट अतिरिक्त शुल्क नअसुल्ने प्रतिबद्धता जनाएका छन् । यसअघि बुधबार प्याब्सन झापाका अध्यक्ष एल.पी उप्रेतीले सञ्चारकर्मीलाइ प्रतिक्रिया दिदै अतिरिक्त शुल्क नलिन आग्रह गर्नुभएको थियो ।
लकडाउनका कारण औपचारिक रुपमा बैठक वा औपचारिक कार्यक्रम गर्न नसकिरहेको वर्तमान अवस्थामा संवाद समूह झापाले आयोजना गरेको भिडियो कन्फ्रेन्समा अनलाइनमार्फत विद्यार्थीलाई ब्यवहारिक शिक्षा दिन सकिने तर्क गर्दै सबैको पहुँचमा निःशुल्क इन्टरनेट र सिमकार्ड पु¥याउनुपर्नेमा जोड दिएमन थिए ।
प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेती, एनप्याब्सन झापाका सल्लाहकार संयोजक सञ्जीव राई, संघीय लिम्बुवान मञ्च नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाक सुब्बा, अभिभावक संघका प्रतिनिधि तथा जनप्रतिनिधि भोजराज सिटौला, पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाका अध्यक्ष देशबन्धु ढुंगेल, शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनाललगायत सहभागी बैठकले सबैको पहुँचमा इन्टरनेटको पहुँच नभएको बताउँदै अनलाईनमार्फत दिइने शिक्षाले विद्यार्थीबीचमा विभेद र मानसिक समस्या उत्पन्न हुने धारणा राखेका थिए।
बैठकले आम नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गर्ने, स्वास्थ्यलाई प्राथमिकतामा राखेर शैक्षिक वातावरण बनाउनुपर्ने, पाठ्यपुस्तक अभाव हुन नदिन निजी विद्यालयका छाता संस्थाहरु, पुस्तक व्यवसायीबीच समन्वय हुनुपर्ने, पाठ्यपुस्तकको सहज वितरणका लागि शिक्षा मन्त्रालय तथा स्थानीय सरकार समक्ष माग गर्ने लगायतका ५ बुँदे निर्णय समेत गरेको छ ।
हालको संकटपूर्ण अवस्थामा सबै विद्यार्थीलाई घरमै बसी अध्ययन गर्न सम्भव भएसम्म रेडियो टेलिभिजनबाट प्रशासित कक्षामा सहभागी बन्न, व्यवहारिक ज्ञान लिन र अभिभावकले समेत घरमा अनुकूल वातावरण बनाइदिन आग्रह गरिएको छ । भिडियो कन्फ्रेन्सको संयोजन संवाद समूह झापाले गरेको थियो । उनीहरुले कोरोना महामारी र लकडाउनले निम्त्याएका शैक्षिक समस्या तथा समाधानका उपाय बारे छलफल गरेका थिए ।

































































































