
भद्रपुर २१ बैशाख । झापाको कचनकवल गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित चारवटा पसललाई स्थलगत कारवाही गरेको छ भने दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले गणेश राईस मिल, लालबाबु किराना पसल, प्रदिप किराना पसल, सुरज किराना पसललाई कारवाही गरेको घरेलु तथा साना उद्योग झापाका प्रमुख छवि खतिवडाले जानकारी दिनुभयो ।
गणेश राईस मिलले मादक पदार्थ विक्रीका लागि राखेको पाएपछि जिल्ला प्रशासन कार्यालय झापाबाट खटिएको अनुगमन टोलीले कारवाही गरेको छ ।
गणेश राईस मिलका नाममा दर्ता रहेको मिलले किराना पसलका साथै मादक पदार्थ पनि विक्रीका लागि राखिएको पाइएपछि अनुगमन टोलीले १५ हजार जरिवाना गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छवि खतिवडाले जानकारी दिनुभयो ।

त्यसैगरी कचनकवलकै बनियानीस्थित लालबाबु किराना पसलमा म्याद गुज्रिएका खाद्य सामग्री भेटिएपछि टोलीले २० हजार जरिवाना गर्नुका साथै म्याद गुज्रिएका लगभग ५ हजार मूल्य बराबरका जंक फुडजन्य खाद्य पदार्थ समेत नष्ट गरेको कार्यालय प्रमुख खतिवडाले बताउनु भयो ।
त्यसैगरी बजार मूल्य भन्दा बढी मूल्यमा सामग्री विक्री वितरण गरेको भन्दै प्रदिप किराना पसललाई चेतावनीसहित २० हजार जरिवाना गरेको अनुगमन टोलीले मूल्यसूची नराखेको, मापदण्ड अनुसारका ढक तराजु नराखेको पाइएपछि बनियानीकै सुरज किराना पसललाई ५ हजार जरिवाना गर्नुका साथै कार्यालयमा उपस्थित हुन भनेको छ अरु दुईवटा पसललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनका लागि पत्र काटेको खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा बजार अनुगमनमा निस्किएको टोलीमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खतिवडा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भरत गिरी लगायत रहनु भएको थियो ।
कचनकवलमा बजार अनुगमन गर्नु अघि टोलीले गाउँपालिकाका अध्यक्ष अन्जार आलमसहित वडाध्यक्षहरुसंग बैठक गरी अनुगमन गर्न शुरु गरेको बताइएको छ ।
































































































