झापा १४ बैशाख । कान्तिबाल अस्पतालका प्रवन्ध निर्देशक कृष्ण पौडेलले बालबालिकामा कोरोना संक्रमण जोखिम अन्यको तुलनामा न्यून देखिएको बताउनु भएको छ । कोरोना संक्रमण सम्बन्धी जानकारी दिन नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिने पत्रकार सम्मेलनमा निर्देशक डा. पौडेलले यस्तो जानकारी दिनुभएको हो ।
नेपालमा ५१ जना कोरोना संक्रमित भइरहँदा १८ वर्षका दुई र त्यो भन्दा कम उमेरका एक गरी तीनजनामा मात्र कोरोना संक्रमण देखिनुले पनि उक्त कुराको पुष्टि हुने निर्देशक पौडेलको भनाइ छ ।
कोरोना संक्रमण शुरु भएको चीनको बुहानदेखि अमेरिका र नेपालसम्म बालबालिकामा कोरोना संक्रमण जोखिमबारे गरिएको अध्ययनको संक्रमण दरबारे जानकारी दिंदै पौडेलले बालबालिकामा संक्रमण जोखिम कम रहेको बताउनु भयो ।
बुहानमा ८२ हजारमा कोरोना पोजेटिभ देखिंदा साढे दुईप्रतिशत अर्थात दुईहजार एकसय ४३ बालबालिका संक्रमित भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुईहजार एकसय ४३ बालबालिका मध्ये ११२ लाई अक्सिजन र १३ बालबालिकालाई भेन्टिलेटर प्रयोग गर्नुपरेको थियो ।
त्यस्तै हालसम्ममा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएर ज्यान गुमाएको अमेरिकामा संक्रमितको १.७ प्रतिशतमात्र बालबालिका रहेको जानकारी दिंदै पौडेलले भन्नुभयो–‘बालबालिकाका अभिभावकका लागि यो खुशीको कुरा पनि हो ।’ ‘फिमेल’ मा भन्दा ‘मेल’ बच्चामा संक्रमण जोखिम बढि हुने अध्ययनले देखाएको पनि पौडेलले जानकारी दिनुभयो ।
एकवर्ष भन्दा कम उमेरका बालबालिका कोरोना संक्रमणको बढी जोखिममा रहने बताइएको छ । बालबालिकामा विना लक्षण कोरोना देखिन सक्ने खतराले देखिएको उहाँको भनाई छ ।
बालबालिकामा कोरोना संक्रमण जोखिम न्यून

































































































