
झापा ४ बैशाख । निर्माण ठेकदार सम्फी दासले घर निर्माणमा लगाउँदै आएका ११ जना भारतीय मजदुर गत चैत्र १२ गते घर फर्कनका लागि भन्दै नेपाल भारत सीमानाका काँकरभिट्टा पुगे । तर, त्यो बेलासम्ममा दुवैतिरको सीमा नाका लक भइसकेको थियो । नाका लक भइसकेका कारण घर फर्कन नसकेका उनीहरुलाई विहान बेलुका छाक टार्ने एकातिर समस्या छ भने अर्कोतिर घर परिवारको चिन्ता ।
विश्वव्यापी रुपमा फैलंदो कोरोना संक्रमण जोखिम भारतमा बढेको भन्दै चैत ११ गते राति १२ बजेदेखि लागू हुने गरी नाका बन्दका साथै लकडाउन घोषणा गरेसंगै उनीहरुले घर जान नपाएका हुन् ।
घर फर्कन भन्दै १२ गते पूर्वी सिमानाका पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएपछि भारतीय मजदुरहरुले घर फर्कन नपाएका हुन् । मजदुरको घर फर्कने तीब्र इच्छा भएपनि नपाएपछि खानको र परिवारको चिन्ताका कारण मजदुरहरु छटपटाएको ठेकेदार सम्फी दासले बताए । दासले निर्माण कार्यमा लगाउँदै आएका मजदुर पश्चिम वंगालको माल्दास्थित राइगञ्ज घर भएको बताइएको छ ।
बन्द हुनुभन्दा केही दिन अघि नै घर जाने भन्दै पैसा समेत लगेका ती मजदुरले किन ढिलो गरे भन्ने कुरा आफूलाई थाहा नभएको दासले बताए । तर काँकरभिट्टामा प्रहरीले रोकेर फर्काइदिएपछि भने फोन गरेर आफूसंगै आइपुगेको बताए । काम विहिन भएर बसेका मजदुरका बारेमा जानकारी दिंदै उनले भने–‘काम हुँदा मात्र पैसा आउने हो, ढलाई गरेको भए साहुले पनि पैसा दिन्थ्यो, मजदुर त मजदुर नै हुन् । यो विश्वव्यापी समस्या हो, उनीहरुको न रासन पानीको व्यवस्था छ ।’ दासका अनुसार ५÷६ दिन अघि वडा कार्यालयले २० किलो चामल राहत स्वरुप दिएको थियो ।
लेवर कन्ट्रयाक्टर मनसुरको पनि समस्या अझ ठूलो छ । उनीसंग कन्ट्रयाकका ५० जना लेवर (मजदुर) छन् । निर्माण कार्यकै लागि भारतबाट इन्डियाबाट कन्ट्रयाक्टमा ल्याएको ती मजदुरलाई आफैंले खानाको व्यवस्था गरिहेका मनसुरले लकडाउन लम्बिंदै जाँदा धान्न समस्या हुन थालेको बताए । ५० जना लेवरलाई दैनिक पाँचदेखि छ हजारसम्म खर्च आउने उनले बताए ।
इन्डियाबाट कन्ट्रयाकमा मजदुर ल्याउँदा कम्तीमा ५० दिनका लागि ल्याउनुपर्ने र त्यसका लागि अग्रिम (एडभान्स) दिएर मजदुर ल्याउने गरेका मनसुरका सोही प्रक्रिया पूरा गरेर ल्याइएको बताइएको छ ।
आफूले कन्ट्रयाकमा आएका मिस्त्री तथा लेवरहरु ४५ दिनदेखि माथि तीन महिनासम्म भएको मनसुरले बताए । उनले भने–‘पटक पटक आएका उनीहरुको काम बढ्दै जाँदा अवधी पनि थपिंदै गएर अढाइ तीन महिनासम्म पनि भएका छन् । काममा आएका मजदुरले काम नभएपछि घर जान तीब्र इच्छा देखाएको उनले बताए ।
पछिल्लो समय नेपालमा घर तथा विल्डिङ निर्माण कार्यमा भारतीय मजदुरहरुको अधिकतम प्रयोग हुने गरेको छ । घर निर्माण कार्यमा संलग्न विर्तामोडमा मात्रै लगभग तीनसय बढी भारतीय मजदुर रहेको एक ठेकेदारले बताए । उनका अनुसार जिल्लाभरमा हजार बढी भारतीय मजदुर रहेपनि सिमा नजिकमा भएकाहरु भने हिंडेरै पनि घर फर्किएको उनले बताए । स्वदेशमा काम नपाएर युवा विदेशिने क्रम बढेसंगै निर्माण कार्यमा भारतीय मजदुरको प्रयोग अत्यधिक मात्रामा हुँदै आएको छ ।

































































































