विर्तामोड २१ फागुन । विश्वमा देखिएको कोरोना भाइरसको प्रभाव शहिद दिवसमा पनि परेको छ । कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो उपलब्धीका रुपमा रहेको झापा आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते तत्कालिन सरकारले झापामा किसान आन्दोलनको अगुवाई गर्ने पाँच जनालाई जेल सार्ने बहानामा झापा र इलामको सीमा सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेको दिनलाई कम्युनिष्टहरुले त्यसयता वार्षिक रुपमा सुखानी शहिद दिवस मनाउँदै आएका छन् ।
सोही अनुसार यो वर्ष पनि नेकपा झापाको आयोजनामा तयारी गरिएको कार्यक्रम नै कोरोना भाइरसका कारण स्थागित गर्नु परेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो ।
कोरोनाकै कारण औपचारिक कार्यक्रम समेत नगरी अनौपचारिक रुपमा शहिदहरुको शालिकमा माल्यार्पण मात्र गरिएको बताउँदै अध्यक्ष पाठकले भन्नुभयो–‘सुखानीका शहिदलाई सम्झने पार्टी जिल्ला कार्यसमितिको बार्षिक कार्ययोजना अनुसार नै हो, शहिद दिवसमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पनि आउने कार्यक्रम थियो, त्यसमा प्रदेश कमिटिको बैठक र प्रदेशस्तरिय प्रशिक्षण पनि झापामै गर्ने तयारी भएकोले कार्यक्रम विगतको भन्दा विशेष थियो, तर सरकारको निर्णय, पार्टी केन्द्रीय तथा प्रदेश कमिटिको निर्देशन अनुसार आ–आफ्नो ढंगले उपस्थित भएर शहिदको सालिकमा माल्यार्पण गर्यौं ।’
शहिदको प्रति श्रद्धाञ्जली अर्पण गर्न झापा आन्दोलनका शहिदहरुहरुले शहादत प्राप्त गरेको शहादतस्थल सुखानीमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला नेताहरु केन्द्रीय सदस्य धर्मशीला चापागाँई, १ नं. प्रदेश अध्यक्ष देवराज घिमिरे, झापा जिल्ला अध्यक्ष चिन्तन पाठक, तिलकुमार मेन्याङ्वोसहित नेता कार्यकर्ता सुखानी पुगेका थिए ।
औपचारिक कार्यक्रम नहुने भएपछि झापा आन्दोलनका क्रममा सहादत प्राप्त ११ जना शहिदहरुको शालिक राखिएको गरामनीमा पनि अनौपचारिक रुपमा शहिदलाई सम्झने प्रयास गरिएको बताइएको छ । स्थानीय गाउँ कमिटिका पदाधिकारी तथा कार्यकर्ताले शहिदप्रति श्रद्धाञ्जली गरेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार राम प्रधानको शालिक रहेको बुद्धशान्ति, विरेन राजवंशीको शालिकस्थल ज्यामिरगढी, पाँचैजना शहिदको शालिक रहेको सुखानी पार्कसहित पाँचै ठाउँमा अनौपचारिक रुपमा शालिकमा माल्यार्पण गर्दै शहिदलाई सम्झिएका हुन् ।
कोरोनाको प्रभाव शहिद दिवसमा, अनौपचारिक रुपमा सम्झना

































































































